देशभर केबलकार बनाउने लहर, थप आधा दर्जन निर्माणको तयारी

काठमाडौं । विगतमा पर्यटकलाई आकर्षित गर्न सुविधायुक्त तारे होटल तथा रिसोर्टहरू बनाउने ट्रेन्ड रहेकामा अहिले होटलसँगै केबलकार, स्काइ वाक, बन्जीजम्प, जीपलाइन लगायत साहसिक टुरिजम प्रोडक्ट निर्माण हुन थालेका छन् । यसले पर्यटकलाई उच्चस्तरीय सुविधाका साथै मनोरञ्जन समेत थपेको छ ।

यसैक्रममा, अहिले पर्यटन व्यवसायमा केबलकार ‘ग्लामर पोडक्ट’ बन्दै गएको छ । पर्यटकको आकर्षण र सुविधाका लागि देशका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरूमा धमाधम केबलकार बन्न थालेका हुन् ।

अहिले देशभर केलबकार बनाउने लहर चलेको छ भन्दा फरक पर्दैन । हालदेशभर आधा दर्जन बढी केबलकार संचालनमा आइसकेका छन् भने थप आधादर्जन बढी केबलकार निर्माणको तयारीमा रहेका छन् ।

नेपालमा पर्यटन व्यवसायको आशा लाग्दो भविष्यलाई मध्येनजर गर्दै व्यवसायीहरूले धमाधम केबलकारमा लगानी गर्न थालेका हुन् । २०५० को दशकमा मनकामना केबलकार बने यताको २० वर्षसम्म अरु कुनै केबलकार निर्माण हुन सकेको थिएन् । तर, २०७० यताको १० वर्षमै आधादर्जन केबलकार थपिएका छन् ।

एकपटक लगानी गरेपछि वर्षौंसम्म मर्मतबाहेकका लागि थप लगानी गर्नुनपर्ने र निरन्तर आम्दानी भइरहने देखेपछि व्यवसायीहरू केबलकार निर्माणमा आकर्षित भएका हुन् । अहिले नेपालकाे पहाडी तथा भित्री मधेसका पर्यटकीय गन्तव्यहरूमा थप केबलकार लगायत अन्य पर्यटकीय संरचनाहरू बनिरहेका छन् ।

हिलस्टेशनमा पर्यटकको बढ्दो आकर्षण भएकै कारण देशका सबैजसो क्षेत्रहरूमा पर्यटकीय संरचनाहरू बनिरहेका छन् । पछिल्लो अर्बौ रुपैयाँ लगानी गरेर केबलकार निर्माणको लहर नै चलेको छ । अहिले देशका विभिन्न भागमा सुविधसम्पन्न रिसोर्ट सहित बनेका केबलकारहरूमा पर्यटकको तीव्र आकर्षण देखिएको छ ।

चन्द्रागिरि केबलकारको महाप्रबन्धक समेत भएर काम गरिसकेका पर्यटन क्षेत्रमा संलग्न अभिषेक बिक्रम शाह नयाँ रिसोर्ट, केबलकार लगायत पूर्वाधार विकास गरेर कम्बिनेशन गन्तव्य बनाए पर्यटकहरूको राम्रो सम्भावना भएका कारण केबलकार बन्ने क्रम बढिरहेको बताउँछन् ।

‘नेपालमा पर्यटन गन्तव्यहरू पहिले सीमित थिए । नियमित गन्तव्यहरू भए पनि कम्बाइन डेस्टीनेसनको रूपमा थिएनन्,’ उनले भने, ‘तर अहिले रिसोर्ट, केबलकार लागायत कम्बाइन रूपमा डेस्टिनेसन क्रियट भइरहेका छन् । यसरी पर्यटक आकर्षको नयाँ गन्तव्य पनि बन्यो । रोजगारी पनि सिर्जना हुने भयो । त्यसैले कम्बाइन डेस्टिनेसनको रूपमा गयो भने केबलकार चल्ने देखियो ।’

देशका ठाउँठाउँमा हिल स्टेशनहरूलाई गन्तव्यको रूपमा विकास गरे पर्यटन व्यवसायको राम्रो सम्भावना भएको उनले बताए । पचासको दशकमा सञ्चालनमा आएको मनकामना केबलकारपछि सत्तरीको दशकमा बनेको चन्द्रागिरि केबलकार अहिले पनि सञ्चालनमा छन् । यी कम्पनीहरूको वित्तीय विवरणले नै पर्यटन व्यवसायको आकर्षणलाई देखाउँछ ।

अहिले अन्य क्षेत्रहरूमा समेत केबलकार निर्माणको निजी क्षेत्रबीच लहर नै चलेको छ । आधा दर्जन केबलकार सञ्चालनमा छन् भने आधा दर्जन बढी केबलकार परियोजना निर्माणधीन र निर्माणको तयारीमा छन् ।

आधा दर्जन सञ्चालनमा

नेपालको सबैभन्दा पुरानो केबलकार चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म ३.२ किलोमिटर लम्बाइको मनकामना केबलकार सञ्चालनमा छ । यो नेपालको पहिलो केबलकार समेत हो । रिसोर्टसहित यस कम्पनीको लगानी १.५८ अर्ब रुपैयाँ रहेको छ ।

यसैगरी, नेपालमा केबलकारको पायोनियर आइएमई ग्रुपले ३ वटा केबलकार संचालनमा ल्याइसकेको छ । आइएमई ग्रुपले काठमाडौंको चन्द्रागिरि केबलकार, बुटवलमा लुम्बिनी केबलकार र नवलपुरमा मौलाकालिका केबलकार संचालनमा ल्याइसकेको छ ।

पाँचतारे रिसोर्टसहित ३ अर्बमा बनेको चन्द्रगिरि केबलकारको लम्बाइ २.४ किलोमिटर हरेको छ । यस्तै, २ अर्बमा बनेको गैँडाकोटदेखि मौलाकालीका केबलकार १.२ किमी र ५ अर्बमा बनेको लुम्बिनी केबलकार २.६ किमी लामो छ ।
यस्तै, पोखरमा गत वर्षदेखि अन्नपूर्ण केबलकार संचालनमा आएको छ । यो केबलकार पोखराको फेवाताल किनारादेखि साराङकोटसम्म २.४ किमी लामो छ । यसको लगानी २ अर्ब रुपैयाँ रहेको कम्पनीको भनाइ छ ।

यसैगरी, दोलखाको कालिञ्चोकमा ९ सय मिटर लम्बाइको कालिञ्चोक केबलकार संचालनमा छ । कालिञ्चोक दर्शन प्रालिले ४५ करोड लगानीमा निर्माण गरेको हो ।

३ अर्ब लगानीको बन्दीपुर केबलकार निर्माण सम्पन्न भएर परीक्षणको क्रममा छ भने १ अर्ब रुपैयाँ लगानीको बुटवलदेखि पाल्पा हुँदै नुवाकोटसम्मको सिदार्थ केबलकार निर्माणाधीन अवस्थामा छ ।

आधादर्जन केबलकार निर्माणको तयारीमा

हाल थप आधादर्जन केबलकार निर्माणको तयारीमा रहेका छन् । ३ अर्ब लगानीको ताप्लेजुङको पाथिभरा मन्दिरसम्म पुग्ने २.५ किमी लामो केबलकार निर्माणको तयारीमा छ ।

यस्तै, ५ अर्ब लगानीमा कैलालीमा बन्ने जालपादेवी केबलकार (३.१ किमी), ८ अर्ब लगानीको कास्कीको मादी गाउँपालिकामा सिकलेस केबलकार (६.४ किमी), ५ अर्बमा तनहुँमा छिम्केश्वरी केबलकार (३.६ किमी)निर्माणको तयारीमा छन् ।

यसैगरी, ६ अर्ब लगानीमा काठमाडौंको चम्पादेवीमा केबलकार निर्माणको तयारी गरिएको छ । विश्वकै सबैभन्दा लामो ८६ किमी लम्बाइको पोखरादेखि मुक्तिनाथसम्म केबलकार निर्माणको तयारीमा छन् । करिब ५० अर्ब लगानीमा यो केबलकार निर्माण गर्न लागिएको हो ।

 

 

हिमाल दोलखाको हकप्रद भर्ने आज अन्तिम दिन, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ? Read Previous

हिमाल दोलखाको हकप्रद भर्ने आज अन्तिम दिन, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ?

सहकारीको तालिमले बनायो आत्मनिर्भर, अचार बेचेरै ५ लाख आम्दानी Read Next

सहकारीको तालिमले बनायो आत्मनिर्भर, अचार बेचेरै ५ लाख आम्दानी