काठमाडौं । अपर तामाकोसी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार २१ गते हाल कायम चुक्ता पूँजीको १:१ अनुपातमा हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो ।
तामाकोसीले प्रतिकित्ता १०० रुपैयाँ दरले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता सेयर जारी गर्ने भएको हो । हाल १० अर्ब ५९ करोड चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीले हकप्रद सेयर जारी गर्न रेटिङ समेत गराइसकेको छ । कम्पनीलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर बीबी असाइन्ड’ रेटिङ दिएको हो । उक्त रेटिङले कम्पनीको समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता मध्यम जोखिम रहेका जनाउँदछ ।
कम्पनीकाे सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी काेषा र बिक्री सह–प्रबन्धक सनराइज क्यापिटल रहेकाे छ ।