ईएसजी प्रवद्र्धन गर्न सीबीफिन, डोल्मा र आइआइएन बीच त्रिपक्षीय सम्झौता

काठमाडौं । वातावरणीय सामाजिक र सुशासन (ईएसजी)सँग सम्बन्धित गतिविधिहरुको संचालनका लागि संयुक्तरुपमा सहकार्य गर्ने गरी बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन), डोल्मा कन्सल्टिङ र इन्भेष्ट फर इम्प्याक्ट नेपाल (आइआइएन) बीच सम्झौता भएको छ ।

बिहीबार सीबीफिनका अध्यक्ष पवनकुमार गोल्यान, डोल्मा कन्सल्टिङका प्रबन्ध निर्देशक जोसेफ सिल्भानस र आईआईएनका प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

लगानी गर्दा वातावरणीय, सामाजिक र सुशासनको क्षेत्रमा देखिने जोखिमहरुको अध्ययन, मूल्याङ्ककन, सुधार तथा व्यवस्थापन जस्ता साझा हितका कार्यहरुमा संयुक्तरुपमा सहकार्य गर्ने सम्झौताको मुख्य उद्देश्य रहेको छ ।

लगानी गर्दा प्राकृतिक स्रोत संरक्षण, हरितगृह ग्यास उत्सर्जन, विषाक्त फोहोरको व्यवस्थापन, जलवायु नीति एवं वातावरणीय नियमहरूको पालनाका विषयमा अन्तरक्रिया गरिने संघले जनाएको छ ।

सम्झौता अनुसार सिबिफिनले बैंक तथा वित्तीय क्षेत्रको सुधार एवं दिगो विकासका लागि सार्वजनिक–निजी संवाद, अध्ययन तथा अनुसन्धानका गतिविधिहरूको संचालन गर्नेछ । यस्ता गतिविधिहरुले बैंक तथा वित्तीय संस्थाहरुको व्यवस्थापन तथा संचालनमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

डोल्मा कन्सल्टिङले स्रोत व्यवस्थापन इएसजी गतिविधिलाई दिगो बनाउनका लागि क्षमता विकासका गतिविधिहरूको तर्जुमा, सञ्चालन, व्यवस्थापन, अनुगमन तथा मूल्याङ्कनसहित जानकारीहरुको आदानप्रदान गर्ने कार्य गर्नेछ ।

आईआइएनले समग्र गतिविधिहरुको कार्यान्वयनको पर्यवेक्षण, स्रोत पहिचान तथा परिचालन, इएसजीको प्रवर्द्धन गर्न आवश्यक वकालत गर्नेछ । सम्झौताको पत्र प्रारम्भिक चरणमा १ वर्षको लागि कायम रहने र आवश्यकताका आधारमा थप अवधि गरिने संघले जनाएको छ ।

काठमाडौं महानगरले गर्‍यो दुई सहकारीको दर्ता खारेज Read Previous

काठमाडौं महानगरले गर्‍यो दुई सहकारीको दर्ता खारेज

जुकरबर्गको ‘थ्रेड्स एप’ विरुद्ध मुद्दा हाल्ने ट्वीटरको चेतावनी Read Next

जुकरबर्गको ‘थ्रेड्स एप’ विरुद्ध मुद्दा हाल्ने ट्वीटरको चेतावनी