झन्डै जीडीपीकै आकारमा कर्जा विस्तार हुँदा पनि किन भएन अपेक्षित आर्थिक वृद्धि ?

काठमाडौं । मुलुकको कुल गाहर्स्थ उत्पादन (जीडीपी)को हाराहारीमा निजी क्षेत्रबाट कर्जा विस्तार हुँदा पनि आर्थिक वृद्धि भने न्यून छ । बैंक तथा वित्तीय संस्थाले उच्चदरमा कर्जा प्रवाह गरे पनि आर्थिक वृद्धिमा योगदान भने उल्लेख्य बढ्न नसकेको हो ।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब रुपैयाँ बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यसअवधिसम्म बैंक तथा वित्तीय संस्थाले कुल ४८ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरिसकेका छन् ।

बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको यो हिस्सा जीडीपीको ९०.६७ प्रतिशत हो । तीव्र रूपमा कर्जा विस्तारको लक्ष्य लिएर बैंकहरूले ऋण लगानी बढाए पनि त्यसअनुसार आर्थिक वृद्धि भने बढ्न नसकेको तथ्यांकले देखाउँछ ।

अर्थशास्त्री डा. चन्द्रमणी अधिकारी अनुत्पादक क्षेत्रमा कर्जा लगानी हुँदा त्यस अनुसार आर्थिक वृद्धि नभएको बताउँछन् । ‘जुन क्षेत्रको लागि कर्जा माग गरेर गएको छ, लगानी तयसमा भएको छैन । उत्पादनशील क्षेत्र परियोजना भनेर लगानी जान्छ तर त्यो पैसा अनुत्पादक क्षेत्रमा गयो,’ उनले भने ।

उत्पादन क्षेत्र देखाएर अन्यत्रै लगानी गएको उनले बताए । ‘बैंकहरूको लगानी हेर्दा करिब ५० खर्ब पुगिसकेको छ । त्यसमध्ये ४०/५० प्रतिशत उत्पादक क्षेत्रमा गयो भनेर देखाइएको छ । तर पैसा अन्यत्रै गएको देखिन्छ,’ उनी भन्छन् ।

वित्तीय क्षेत्रका जानकार अनलराज भट्टराई पनि उपभोगमुखी अर्थतन्त्र भएकाले कर्जा विस्तारको तुलनामा आर्थिक वृद्धि नभएको बताउँछन् । ‘कर्जा विस्तार अनुसार जीडीपी ग्रोथ नहुनुको कारण हाम्रो अर्थतन्त्र उपभोग्य वस्तुमा आधारित छ भन्ने हो,’ उनले भने ।

आयात र उपभोगमुखी अर्थतन्त्र भएकाले कर्जा लगानीको वृद्धिदरले आर्थिक वृद्धिलाई सहयोग नगरेको उनले बताए । ‘आयातको तुलनामा निर्यात नगन्य छ । यो हाम्रो अर्थतन्त्रको नेचर हो । आर्थिक वृद्धिका लागि चाहिने रोजगारी देखि अन्य उत्पादन क्षेत्रमा गतिविधि बढ्नु पर्ने हो । त्यो बढेको छैन,’ उनले भने, ‘ अहिले नै हेर्दा गार्हस्थ्य उत्पादनको ३० प्रतिशत कर्जा ल्यसमै लगानी भएको छ । खपत गर्ने वस्तुहरू पनि आयाति भए । त्यो लगानीले आर्थिक वृद्धिलाई सहयोग नगरेको देखियो ।’

सम्पत्तिको मूल्य बढे पनि त्यसले इन्कम जेनेरेट हुने ठाउँमा लगानी नहुँदा कर्जा लगानी र आर्थिक वृद्धि बीचको तादाम्यता नमिलेको जानकारहरूको भनाइ छ ।

‘हाम्रो सम्पत्तिको मूल्य बढी वृद्धि भयो । त्यो अनुसार कारोबार वित्तीय तथा गैरवित्तीय सम्पत्तिको कारोबार बढी भयो । यसले जीडीपीमा योगदान दिनलाई त्यसअनुसार लगानीमा म्याचिङ हुन सकेन्,’ उनले भने ।

कर्जा विस्तार हुँदैमा आर्थिक वृद्धि हुन्छ भन्ने नभएको अर्थतन्त्रले देखाएको उनले बताए । पछिल्लो एक दशकको तथ्यांक हेर्दा बैंकहरूको कर्जा लगानीको ग्राफ र आर्थिक वृद्धि बीचको अन्तर धेरै छ ।

बैंकहरूको अधिकांश कर्जा अनुत्पादक क्षेत्रमा गएको भन्दै गत वर्षदेखि राष्ट्र बैंकले कर्जा विस्तारमा अंकुश लगाउँदै लगेको छ । कोभिडपछि अर्थतन्त्र पुनरुत्थानका लागि राष्ट्र बैंकले व्यापक कर्जा विस्तारको नीति लिएको थियो ।

यस अवधिमा वार्षिक जीडीपीको ३० प्रतिशत कर्जा विस्तार हुँदा पनि आर्थिक वृद्धि भने माथि उठ्न सकेन । राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०६९/७० मा कुल जीडीपीको ४९ प्रतिशत कर्जा विस्तार रहेकोमा चालु वर्षसम्म झण्डै शतपतिशतको हाराहारीमा पुगेको छ । तर, आर्थिक वृद्धि भने यस अवधिमा पनि ऋणात्मक हुने प्रक्षेपण गर्न थालिएको छ ।

 

६० वर्षपछि फराकिलो बनाइँदै बुटवल-गोरुसिङ्गे-चन्द्रौटा सडक, तिनाउमा सिग्नेचर ब्रिज Read Previous

६० वर्षपछि फराकिलो बनाइँदै बुटवल-गोरुसिङ्गे-चन्द्रौटा सडक, तिनाउमा सिग्नेचर ब्रिज

अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Next

अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा