६० वर्षपछि फराकिलो बनाइँदै बुटवल-गोरुसिङ्गे-चन्द्रौटा सडक, तिनाउमा सिग्नेचर ब्रिज

सांकेतिक तस्वीर

तिलोत्तमा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड स्तरोन्नति हुन थालेको छ । विश्व बैंकले बुटवल-गोरुसिङ्गे-चन्द्रौटा ६९ किलोमिटर सडक स्तरोन्नतिका लागि रु २७ करोड ५० लाख उपलब्ध गराउने सम्झौतापछि आवश्यक प्रक्रिया सुरु भएको हो ।

हाल दुई लेनमा रहेको यस सडकलाई चारलेनमा स्तरोन्नति गर्न लागिएको हो । सडक विभागका सहसचिव तथा उपमहानिर्देशक डा विजय जैसीले सडकको ठेक्का प्रक्रियामा जाने तयारी भइरहेको जानकारी दिए। उनले भने, ‘पुरानो सडक हो यो, यसलाई हामीले दुई खण्डमा विभाजित गरी स्तरोन्नतिको काम अघि बढाउने छौँ ।’

विसं २०१८ मा तत्कालीन राजा महेन्द्र शाहले शिलान्यास गरेको सडक ६० वर्षपछि फराकिलो बनाउन थालिएको हो । बुटवलबाट गोरुसिङ्गेसम्म ५० किलोमिटर र गोरुसिङ्गेदेखि चन्द्रौटासम्म १९ किलोमिटर गरी दुई खण्डमा विभाजित गरी स्तरोन्नति हुनेछ ।

उपमहानिर्देशक जैसीका अनुसार बुटवलबाट गोरुसिङ्गेसम्मका लागि केही वर्षअघि एसियाली विकास बैंकको सहयोगमा डिजाइन सम्पन्न भएको थियो । सो खण्डका लागि एक महिनाभित्र बोलपत्र प्रक्रियामा जाने सडक विभागको योजना छ ।

अर्को गोरुसिङ्गेबाट चन्द्रौटासम्म १९ को डिजाइन गरेर तुरुन्तै काम अगाडि बढाउने योजनामा विभाग रहेको छ । यो सडक तीन वर्षभित्र काम सम्पन्न हुने गरी गरी ठेक्का लगाउने तयारी भइरहेको छ ।

यो सडक विस्तारले बढ्दो सवारीसाधनको चापलाई कम गर्ने ठूला सवारी चलाउनका पनि सहज हुने अपेक्षा गरिएको छ । पछिल्ला दिनमा राजमार्गमा सवारीसाधनको चाप वृद्धि हुन थालेपछि सडक विस्तार गर्न अनिवार्यजस्तै भएको सडक कार्यालय बुटवल प्रमुख इन्जिनियर होमबहादुर एसीले बताए ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको स्तरोन्नतिको काम चलिरहेको छ । चाइना स्टेट कम्पनीले विगत तीन वर्षदेखि उक्त खण्डमा सडक विस्तारको काम जारी राखेको छ । बुटवल–चन्द्रौटा सडक विस्तार भएपछि बुटवलमा पुरानो तिनाउ पुलले सवारीसाधनको चाप नथाम्ने आकलन गर्दै सो स्थानमा सिग्नेचर ब्रिज निर्माणको काम पनि अगाडि बढाइने सहसचिव जैसीले जानकारी दिए ।

सन नेपाल लाइफले तोक्यो प्रिमियममा आइपीओ जारी गर्ने मिति Read Previous

सन नेपाल लाइफले तोक्यो प्रिमियममा आइपीओ जारी गर्ने मिति

झन्डै जीडीपीकै आकारमा कर्जा विस्तार हुँदा पनि किन भएन अपेक्षित आर्थिक वृद्धि ? Read Next

झन्डै जीडीपीकै आकारमा कर्जा विस्तार हुँदा पनि किन भएन अपेक्षित आर्थिक वृद्धि ?