काठमाडौं । ठगी अभियोगमा पक्राउ परेका पूर्व राज्यमन्त्री एवं चर्चित व्यवसायी डा. रुप ज्योतिलाई पक्राउ गरी हिरासतमा राखिएकोमा व्यावसायीहरुले विरोध गरेका छन् ।
काठमाडौं जिल्ला उद्योग वाणिज्य संघको अगुवाइमा आज न्यूरोडमा व्यावसायीहरुले विरोध र्याली निकालेका छन् ।व्यावसायीहरुले ‘उद्योगी र व्यावसायीको सुरक्षा र सम्मान गर, उद्योगपति रुपज्योति र सुरुची ज्योतिलाई रिहा गर’ भन्ने नारा लेखिएको ब्यानरसहित विरोध गरेका हुन।
सरकारले व्यवसायीलाई अनाहकमा दुुःख दिने, हत्तोसाहित र आतंकित पार्ने काम गरेको र यसले समग्र अर्थतन्त्रमा नै नकरात्मक असर पार्ने व्यवसायीहरुले बताएका छन् । उनीहरुले सरकारले ठगीकै आरोपमा सत्य तथ्य नबुझी व्यवसायीलाई हैरानी दिएको आरोप लगाएका छन् ।
ज्योतिलाई १ करोड २६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीमा जाहेरी परेको थियो। साेकाे आधारमा ज्योति ग्रुपका अध्यक्ष समेत रहेका उनलाई गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छोरी सुरुचिसहित प्रहरीले पक्राउ गरेको थियो।
अदालतको आदेशमा म्याद थपगरी अहिले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । ज्योतिका दाजु पद्म ज्योतिलाई पनि अदालतले पक्राउ पूर्जी जारी गरेको थियो।