काठमाडौं । धान रोप्ने मुख्य समय असार सकिनै लाग्दा समेत देशभर एकचौथाई पनि रोपाइँ हुन सकेको छैन । मुख्यगरी सिंचाइ सुविधा नभएका तराई क्षेत्रमा पानी नपर्दा समयमै धान रोपाइँ हुन नसकेको हो ।
सरकारले यस वर्ष करिब १४ लाख ९५ हजार हेक्टर हाराहारी क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरे पनि हालसम्म ३ लाख २९ हजार हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
असारको तेस्रो सातासम्ममा २३ प्रतिशत हाराहारीमा धान रोपाई सकिएको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार संजेलले जानकारी दिए । उनले यो वर्ष मनसुन ढिला सुरु भएका कारण धान रोपाइँ हुन ढिला भएको बताए । ‘मनसुन ढिला सुरु भयो त्यसैले रोमपाईमा केही कमी आएको छ, तर मौसमले साथ दिएको छ, यो राम्रो संकेत हो,’ प्रवक्ता संजेलले चाणक्य पोष्टसँग भने ।
उनले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा धान रोपाइँ आधाभन्दा बढी भइसकेको बताए । अन्य प्रदेशहरुमा पनि धान रोपाइँ निरन्तर भइरहेको उनले जानकारी दिए ।
मन्त्रालका अनुसार असार १७ गतेसम्ममा कर्णाली प्रदेशमा २० हजार ४३४ हेक्टरमा रोपाइँ भइसकेको छ । कर्णाली प्रदेशमा यो वर्ष ४५ हजार ३०० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको थियो ।
यस्तै सुदूरपश्चिम प्रदेशमा यो वर्ष ८६ हजार ७२ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ । यो वर्ष यहाँ १ लाख ७५ हजार ५५६ हेक्टर बढी क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ ।
कोशी प्रदेशमा हालसम्म ५७ हजार ८०० हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ । यो वर्ष यहाँ ३ लाख ४० हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ ।
गण्डकी प्रदेशमा हालसम्म १७ हजार १७० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ । यस वर्ष यहाँ ९७ हजार ८४० हेक्टर बढि क्षेत्रमा धान रोपाइँ हुने अनुमान गरिएको छ ।
मधेश प्रदेशमा हालसम्म ३८ हजार हेक्टर बढी क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । यहाँ यो वर्ष ४ लाख १ हजार हेक्टर बढी क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको थियो ।
यसैगरी, लुम्बिनी प्रदेशमा यहालसम्म ७५ हजार ९८३ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ भने बागमती प्रदेशमा ३३ हजार ६०० हेक्टर बढि क्षेत्रफलमा रोपाइँ सकिसकेको छ ।
यो वर्ष बागमती प्रदेशमा १ लाख २३ हजार हेक्टर बढी क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको थियो ।