काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेकाे छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हाे ।
सोमबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले साबिककाे खुद्रा मूल्यमा पेट्रोल तथा डिजेल/ मट्टीतेलमा पहिलाे दाेस्राे र तेस्राे वर्गका लागि मूल्य घटाएकाे जनाएको छ ।
निगमका अनुसार वैज्ञानिक प्रणालीबाट समायाेजन गरिएको यस मूल्य सूचीमा पहिलाे वर्गमा तराईका क्षेत्रहरूमा प्रतिलिटर पेट्राेल, डिजेल र मट्टीतेल ७ रूपैयाँ ५० पैसा, दाेस्राे वर्ग अन्तर्गत सुर्खेत र दाङ लगायतका क्षेत्रमा ६ रूपैयाँ र तेस्रो वर्गमा राखिएका काठमाडौं‚ पोखरा र दीपायलमा ५ रूपैयाँले मूल्य घटाइएकाे हाे ।
याेसँगै तराईमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६७.५ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४७.५/१४७.५ रुपैयाँ कायम भएकाे छ ।
दाङ र सुर्खेतमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६९ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४९/१४९ रुपैयाँमा उपभोक्ताले खरिद गर्न सक्नेछन् ।
यसैगरी, काठमाडौं‚ पोखरा र दीपालयमा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५०/१५० रुपैयाँ पर्ने निगमले जनाएको छ ।
आन्तरिक हवाई इन्धनको मूल्य पनि निगमले प्रतिलिटर १४ रुपैयाँ तथा वाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटाएकाे छ । निगमका अनुसार हाल खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएकाे छ ।
१६ असारमा भारती आयाल निगमले पेट्रोलियम पदार्गकाे मूल्य शुचि घटाएर पठाएको थियाे । साेही अनुसार निगमले १५ दिनमा स्वचालित मूल्य प्रणाली अनुसार समायोजन गर्दै आएकाे छ ।