काठमाडौं । स्वदेशमै रोजगारीको अवसर नहुँदा विदेशिनेको संख्या कहालीलाग्दो रहेको छ । नेपालमा वार्षिक झन्डै ५ लाख व्यक्ति श्रमबजारमा आउने भए पनि रोजगारीको अवसर नपाउँदा विदेशिन बाध्य भएका हुन् ।
देशमै ठूला उद्योग, कलकारखानाको विकास नहुँदा दैनिक हजारौं संख्यामा युवा पलायन हुन बाध्य भएका छन् । नेपालमा बसेर छाक टार्न समेत धौधौ हुने भएपछि उनीहरू विकल्पको खोजीमा विदेशिने गरेका छन् ।
पछिल्लो समय अर्थतन्त्रमा आएको संकटले गर्दा विदेशिनेको संख्या झनै बढेको सरकारी तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको साढे ११ महिनामा मात्रै झन्डै साढे ७ लाख जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार असार १६ गतेसम्म ७ लाख ४० हजार बढीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।
सम्भवतः यो हालसम्म कुनै पनि एक वर्षमा श्रम स्वीकृति लिनेको संख्या सबैभन्दा धेरै हो ।यस तथ्यांक अनुसार औसतमा दैनिक २११५ जना वैदेशिक रोजगारीमा गइरहेका छन् ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेले नेपालमा रोजगार नहुनाले वैदेशिक रोजगारमा जाने श्रमिक उच्च भएको बताए । उनले कोभिडपछि सृजना भएको आर्थिक मन्दि र संकटले गर्दा युवाहरू वैदेशिक रोजगारमा जान बाध्य भएको बताए ।
‘नेपालमा रोजगार छैन, श्रमका लागि बजेट नै आउँदैन, ७ लाख बढी बेरोजगार छन्, अनि प्रधान मन्त्री रोजगार कार्यक्रमले मात्र कति समेट्न सक्छ, त्यसपछि वैदेशिक रोजगार बाहेक के उपाय छ,’ सहसचिव घिमिरेले चाणक्य पोष्टसँग भने ।
उनका अनुसार नेपालमा ७ लाख बढी बेरोजगारहरू रहेका छन् । जसलाई शिपमूलक रोजगारी सृजना गर्न आवश्यक छ । उनले उक्त समूहलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत समेटन नसकिने भएकाले अझै समाधानको खोजी भइरहेको बताए ।
उनका अनुसार चालु आर्थिक वर्षमाप्रधानमन्त्री रोजगार कार्यक्रमबाट ८६ हजारलाई रोजगार प्रदान गर्ने लक्ष्य राखिएको थियो । झण्डै ९० प्रतिशतले मात्र त्यसको सुविधा लिन सकेका छन् ।
मुलुकमा बेरोजगारीको तथ्यांक कहालीलाग्दो भए पनि सरकारले त्यसलाई सम्बोधन गर्न सकेका छैन । झारा टार्न केही दिनका लागि झार उखाल्ने, बाँदर धपाउने लगायत काम दिने गरेको छ । त्यस्तो कामबाट हुने कमाइले एक महिना परिवार पाल्न समेत नपुग्ने हुन्छ ।
कुन वर्ष कति विदेशिए ?
गत आर्थिक वर्ष २०७८/७९ मा ६ लाख ३० हजारभन्दा बढीले श्रम स्वीकृति पाएर वैदेशिक रोजगारीमा गएका थिए । अघिल्लो वर्षको तुलनामा चालु वर्र्ष १ लाख बढीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति पाएका हुन् ।
कोभिडकालमा भने वैदेशिक रोजगारीमा जानेको संख्या ह्वात्तै घटेको थियो । आर्थिक वर्ष २०७७/७८ मा १ लाख ६६ हजार ६९८ जना, आर्थिक वर्ष २०७६/७७ मा ६८ हजार ४३३ जना विदेशिएका थिए ।
त्यस्तै, आव २०७५/७६ मा १ लाख ८ हजार ८२८ जना, २०७४/७५ मा ६ लाख १२ हजार ६८५ जना, आर्थिक वर्ष २०७३/७४ मा ६ लाख ४२ हजार ८५९ जना, आर्थिक वर्ष २०७२/७३ मा ६ लाख ४० हजार जनाले श्रम स्वीकृति लिएका थिए।