काठमाडौं । पशुपति क्षेत्रस्थित मित्रपार्क चोकमा निर्माणका लागि शिलान्यास गरिएको आकाशेपुलको काम वर्षौंदेखि अलपत्र बनेको छ ।
काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले २०७८ माघ ९ गते शिलान्यास गरेको उक्त पुलको निर्माण कार्य अघि नबढ्दा अलपत्र बनेको हो ।
आकाशेपुल निर्माणका लागि तोकिएको स्थानको माथि ‘हाइटेन्सन लाइन’ देख्दादेख्दै ‘साइड क्लियर’ नगरी शिलान्यास गरिएको स्थानीय रवि ढुङ्गेलले जानकारी दिए। शिलन्यास गर्दादेखि यस स्थानमा आकाशे पुल निर्माण उपयुक्त नहुने भनी आवाज उठाएकामा सुनुवाइ नहुँदा निर्माण अलपत्र भएको उनको भनाइ थियो ।
ढुङ्गेलका अनुसार चुनावी वर्षमा सस्तो लोकप्रियताका लागि गरिएको कामले अहिले पैदल यात्रु अप्ठ्यारोमा पर्ने गरेका छन् । ‘पुलका लागि आधा फलाम ठड्याएर अलपत्र छोड्दा पैदल यात्रु हिँड्दा समस्यामा पर्न थालेका हुन्,’ उनले भने ।
महानगरपालिका निर्माण विभागका प्रमुख रामबहादुर थापाले हाइटेन्सन लाइन नहटेकाले काम पूरा गर्न समस्या भएको बताए । उनका अनुसार पुल निर्माणका लागि विभागले ठेक्का गरेको हो ।
काठमाडौँ महानगरपालिका वडा नं ७ को कार्यालयअगाडि नै निर्माण सुरु गरिएको उक्त पुल वर्षौंदेखि अलपत्र बनेको छ । पुलको डिजाइनमा केही परिवर्तन गरेर काम अगाडि बढाउने गरी माग गरिएको अध्यक्ष विमलकुमार होडाले जानकारी दिए।
उनका अनुसार वडाले अपाङ्गता भएका व्यक्तिलाई पनि सहज हुने गरी पुलमा लिफ्ट राख्नुपर्ने प्रस्ताव गरेको छ । ‘हाइटेन्सन लाइन हटाउन महानगरपालिकाले पैसा दिन्छु भनिरहँदा नेपाल विद्युत् प्राधिकरणले सहयोग गरेको छैन,’ उनले भने ।
मित्रपार्क चोकमा निर्माणाधीन आकाशेपुल सम्पन्न भए दैनिक पशुपतिनाथ मन्दिर आवतजावत गर्ने धेरै भक्तजन तथा पैदल यात्रुलाई सहज हुने स्थानीयको भनाइ छ ।रासस