काठमाडौं । पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदीको पुल निर्माण अनिश्चित भएको छ ।
निर्माण कम्पनीले १० वर्षसम्म अलपत्र पारेपछि ठेक्का तोडिएको यस पुल आयोजना पुरानै ठाउँमा बनाउने कि नयाँ ठाउँमा बनाउने भन्ने विषयले अन्योलमा परेको हो ।
जाजरकोटको भेरी नगरपालिका र रुकुमको चौरजहारी नगरपालिका जोड्ने पुल ठेकेदारको लापरबाहीका कारण बन्न सकेको थिएन । ठेक्का तोडेपछि निर्माण कम्पनि अदालत पुगेको छ भने मुद्दा विचाराधीन छ ।
यसैबीच, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नयाँ पुल निर्माणको लागि ठेक्का प्रकृया अघि बढाउने निर्णय गरेको छ ।
मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालयका प्रमुख हरिकुमार पोखरेलले पुरानो पुल बनिरहेको स्थानबाट १०० मिटर पुर पुल बनाउन प्रस्ताव गरिए पनि पुरानै ठाउँमा भएको संरचनाको उपयोगका लागि यथास्थितिमै पुल निर्माणलाई निरन्तरता दिने विषयमा छलफल भइरहेको बताए । उनले सडक विभागले पुरानो ठाउँमा भएको उपकरण र संरचना फेरि प्रयोगमा आउने भन्दै पुरानै ठाउँमा पुल निर्माण र नयाँ स्थानमा पुल निर्माण गर्ने विषयमा छलफल भइरहेको बताए ।
‘हामीले अहिले भएको पुलभन्दा १०० मिटर पर नयाँ पुल निर्माण सुरू गर्न प्रस्ताव गरेका थियौँ, तर, सडक विभागले पुरानै ठाउँमा भएको सामानको पुर्न प्रयोग गर्न सकिने भन्दै पुरानै ठाउँमा पुल निर्माणलाई निरन्तर्ता दिनेगरी ठेक्का निकाल्न भनिरहेको छ, यस विषयमा छलफल चलिरहेको छ,’ पोखरेलले चाणक्य पोष्टसँग भने ।
यो पुल समयमा नबन्दा पुष्पलाल (मध्यपहाडी) राजमार्ग हुँदै रुकुमपश्चिम जान सल्लीबजार जानुपर्ने बाध्यता छ । समयमा पुल निर्माण भए राजमार्ग हुँदै रुकुम पुग्न सहज हुने छ । ठेकेदार कम्पनीलाई योजना कार्यालयले बनाउनका लागि २०७३ सालदेखि पत्राचार गर्दासमेत पुल निर्माण नभएपछि ठेक्का तोडिएको थियो ।
मध्यपहाडी राजमार्गको कुल लम्बाइ १ हजार ८७९ किलोमिटर रहेकोमा थप ५४८ किलोमिटर सडक कालोपत्र हुन बाँकी रहेको छ । यस आयोजनामा कुल १३७ पुल निर्माण गर्नुपर्ने मध्ये ९७ पुल निर्माणको काम सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनामा थप ४० वटा पुल निर्माण गर्न बाँकी रहेको छ ।