काठमाडौं । सरकारले पेसा, व्यवसाय र रोजगारी गर्नेलाई अनिवार्य स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने व्यवस्थामा कडाइ गरेपछि करदाताको संख्या ह्वात्तै बढेका छन् ।
चालू आर्थिक वर्षको पहिलो ३ महिनामा मात्रै करिब सवा ७ लाख करदाता थपिएका छन् । आन्तरिक राजश्व विभागका अनुसार चालू आवको असोज मसान्तसम्ममा ७ लाख १७ हजार १८ करदाता थपिएका छन् । योसँगै कूल करदाता संख्या २८ लाख ८९ हजार २१८ पुगेको छ । गत आवमा कूल करदाता संख्या २२ लाख ३३ हजार ९२८ थियो ।
कूल करदातामध्ये सबैभन्दा धेरै व्यक्तिगत स्थायी लेखा नम्बर लिने छन् । असोज मसान्तसम्ममा कूल १६ लाख १२ हजार ४ सय ५२ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन् ।

जुन सङ्ख्या गत असार मसान्तको भन्दा ६ लाख १९ हजार ३ सय ७२ ले बढी हो। असार मसान्तसम्म व्यक्तिगत प्यान लिने करदाता सङ्ख्या ९ लाख ८३ हजार थियो।
त्यस्तै, असोज मसान्तसम्ममा व्यावसायिक स्थायी लेखा नम्बर (बिप्यान) लिने करदाताको संख्या भने १२ लाख ७४ हजार ७ सय १७ रहेका छन् । चालू आवको तीन महिनामा मात्रै ९६ हजार ३ सय ३४ जनाले बिप्यान लिएका छन् । गत असार मसान्तसम्म बिप्यान लिने करदाताको संख्या ११ लाख ७८ हजार ३ सय ८३ रहेका थिए ।
यस्तै, असोज मसान्तसम्म मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताको सङ्ख्या २ लाख ३५ हजार ९ सय ७५ पुगेको छ। अन्तः शुल्कमा दर्ता हुने करदाताको सङ्ख्या ९० हजार ६ सय ४४ पुगेको छ।
चालू आर्थिक वर्षबाट कर्मचारी तथा श्रमिकको तलब/ पारिश्रमिक भुक्तानी गर्दा १ हजार रुपैयाँभन्दा बढीको भुक्तानी गर्दा प्यान नम्बर अनिवार्य गरेपछि प्यान लिने करदाता सङ्ख्या बढेको हो। हालै सरकारले यसको दायरा बढाउँदै २ हजार रुपैयाँसम्मको भुक्तानी गर्दा प्यान नम्बर नचाहिने व्यवस्था गरेको छ।