काठमाडौं । आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९र८० को साउनदेखि पुससम्मको तथ्याङ्कमा आधारित अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गरेको हो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली र तरकारी एवं फलफूल तथा मसला) को उत्पादन ४.३ प्रतिशतले बढेको छ । यस्ता बालीले ढाकेको भूक्षेत्र भने २.१ प्रतिशतले घटेको छ ।
खाद्य तथा अन्य बालीको उत्पादन मात्र ५.७ प्रतिशतले बढेको छ । त्यस्तै तरकारी तथा बागवानीको उत्पादन साढे ४ प्रतिशतले बढेको छ । फलफूल र मसलाको उत्पादनमा भने क्रमशः ५.२ प्रतिशत र ८.४ प्रतिशतले घटेको छ ।
प्रतिवेदनअनुसार पशुजन्य उत्पादनअन्तर्गत दूध उत्पादन १.४ प्रतिशत र मासु उत्पादन १.७ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै अर्धवार्षिक अवधिमा अण्डा उत्पादन २६.३ प्रतिशतले घटेको छ । वनजन्य उत्पादनअन्तर्गत काठ उत्पादन १६.२३ प्रतिशतले र औषधिजन्य वस्तुको उत्पादन ७.४ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा उद्योगको क्षमता उपयोग औसतमा ४३.७ प्रतिशत रहेको छ । यो अवधि बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कूल कर्जामा औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जाको अंश २७.९ प्रतिशत रहेको छ ।
पुस मसान्तसम्ममा घरजग्गा रजिष्ट्रेशन सङ्ख्या ५०.०३ प्रतिशतले घटेर १ लाख ९६ हजार ५९५ कायम भएको र जग्गा रजिस्ट्रेशनबाट प्राप्त हुने राजस्व रु ९ अर्ब ९० करोड पुगेको प्रतिवेदनमा जनाइएको छ । घर तथा भवनको स्थायी नक्सा पास सङ्ख्या ३७.५ प्रतिशतले घटेको छ ।
विसं २०७८ पुस मसान्तको तुलनामा २०७९ पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप ९.१ प्रतिशतले र कर्जा प्रवाह ४.१ प्रतिशतले वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाको कूल निक्षेप र कर्जामा बागमती प्रदेशको अंश क्रमशः ६९.४ प्रतिशत र ५५.६ प्रतिशत रहेको छ । निक्षेप र कर्जामा कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम क्रमशः १.२ प्रतिशत र १.२प्रतिशत रहेको छ ।
विसं २०७८ पुस मसान्तको तुलनामा २०७९ पुस मसान्तसम्ममा दर्ता भएका कूल सवारीसाधनको सङ्ख्या ४.१ प्रतिशतले वृद्धि भएको छ । पूर्वाधार क्षेत्रमा चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ३४ हजार ७५ किलोमिटर सडक र तीन हजार १८ पुल निर्माण भएको प्रतिवेदनमा उल्लेख छ । यो अवधिसम्ममा अन्तर्राष्ट्रिय उडानतर्फ तीन वटा नेपाली वायुसेवा र २९ वटा विदेशी वायुसेवा गरी ३२ वटा वायुसेवा कम्पनीले विभिन्न गन्तव्यमा उडान सञ्चालन गरिरहेका छन् । सबै मौसममा सञ्चालनमा रहने विमानस्थलको सङ्ख्या ३३ रहेको छ ।