विकासशील मुलुकमा स्तरोन्नति हुँदा नेपाललाई कस्ता हुन्छन् अवसर र चुनौती ?

काठमाडौं । सन् २०२६ मा अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्न नेपालले विभिन्न सूचकहरूमा सुधार गरिरहेको छ । न्यून आय, कमजोर मानवीय जनशक्ति, आर्थिक र वातावारणीय जोखिमका सूचकमा सुधार गर्दै विकासशील राष्ट्रमा स्तरोन्नति हुने लक्ष्य लिएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले (लिस्ट डेभ्लपड कन्ट्रि)एलडीसी र एसडीजी (सस्टेनेबल डेभलपमेन्ट गोल)का लक्ष्य पूरा हुनेगरी योजना तर्जुको काम भइरहेको बताए ।

‘एलडीसी र एसडीजीका लक्ष्यहरू भेट्टाउने गरी योजना तर्जुमा गर्दैछौं । एलडीसीको ग्रयाजुयसनको पाटोलाई छुट्टै हेर्न स्मुथट्रन्सेन स्ट्याडीजी फाइनल चरणमा पुगेको छ,’ उनले भने ।

१३ औं आयोजनाले नेपाललाई सन् २०२२ सम्म विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्य लिएको थियो । तर, अर्थराजनीतिक अनिश्चिताका बीच नेपालले थप चुनौती सामना गर्नुपर्ने र अपेक्षा अनुसार सूचकांकमा सुधार नभए पछि स्तरोन्नतिबाट पछि हट्यो ।

नेपाल सन् १९७१ देखि अतिकम विकसित राष्ट्रहरूको सूचीमा रहँदै आएको छ । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा अर्थशास्त्री नरबहादुर थापा सामाजिक र वावतावरणीय क्षेत्रमा सूचकहरूमा नेपालको राम्रो अवस्था रहे पनि प्रतिव्यक्ति आयमा अझै राम्रो सुधार हुन नसकेको बताउँछन् ।

‘विकासशील राष्ट्रमा स्तरोन्नति भएपछि नेपालले पाउने व्यापार सहुलियत र आर्थिक सहायता गुमाउँछ,’ उनले भने , ‘स्तरोन्नतिको लागि आवश्यक पर्ने सामाजिक र वातावरणीय सूचकहरू राम्रै भए पनि प्रतिव्यक्ति आय अलि कमजोर नै छ ।’

प्रतिस्पर्धी बन्ने अवसर

अर्थशास्त्री डा. चन्द्रमणी अधिकारी नेपाल विकासशील देशमा स्तोरोन्नति हुँदा मनोबल बढेर प्रतिस्पर्धी बन्ने अवसर प्राप्त हुने बताउँछन् । ‘सधै चुनौती आउँछ भनेर एलडीसीमा ग्रयाजुयसन नहुने भन्ने हुँदैन । यसमा स्तरोन्नति भइसके पछि नेपालको लागि अवसर भनेको कन्फिडेन्स विकास हुन्छ । यसले वैदेशिक लगानी पनि बढाउछ,’ उनी भन्छन् ।

यसले नेपाललाई काम गर्न उत्पे्ररणा पनि हुने उनले बताए । ‘यसले रिसोर्स जेनेरेट गरेर प्रतिस्पर्धी भएर काग गर्न आफूलाई उत्प्रेरणा र दबाब पनि प्राप्त हुन्छ,’ अधिकारीले भने, ‘वैदेशिक लगानीकर्ता आउनको लागि कन्फिडेन्स बढाउँछ । वैदेशिक सहायताकै सन्दर्भमा पनि कन्फिडेन्स डेभ्लप हुन्छ । त्यो चाँही हाम्रो लागि अवसर हो ।’

नेपालले सामना गर्नु पर्ने चुनौती

विकासशील राष्ट्रमा स्तरोन्नति भएसँगै नेपालले केही चुनौती सामना गर्नु पर्ने जानकारहरू बताउँछन् । सोही कारण सरकारले त्यसको तयारी गर्नु पर्ने उनीहरूको भनाइ छ ।

अर्थशास्त्री डा. अधिकारी एलडीसीमा ग्रयाजुयट भइसकेपछि नेपालले मुख्यगरी व्यापार र आर्थिक सहायताको विषयमा हाल प्राप्त भइसकेका सुविधाहरू नपाउने बताउँछन् ।

‘एलडीसीमा ग्रयाजुयट भइसकेपछि अहिले नेपालले युरोप अमेरिकाबाट व्यापारमा पाएका सुविधा पाउँदैन,’ उनले भने, ‘अहिलेसम्म वैदेशिक ऋण हामीले सस्तोमा पाइरहेका छौं । कम ब्याजदर र सेवा शुल्क तथा लामो समयसम्म तिर्न सक्ने गरी प्राप्त भएको सहुलियत कटौती हुन्छ ।’

स्तरोन्नतिपछि महंगोमा प्राप्त हुने भएकाले ऋण लिएर काम गर्न समस्या हुने उनले बताए । त्यसको लागि नेपालले आफ्नो क्षमता विकास गर्नुपर्ने अर्थविद् बताउँछन् ।

विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा थपिने चुनौतीको सामना गर्ने गरी योजना कार्यान्वयन गरिने उपाध्यक्ष श्रेष्ठले बताए । ‘एलडीसीबाट ग्रयाजुयट भयौं भने त्यसबाट पाइने फाइदा र चुनौतीहरू पनि छन,’ उनले भने, ‘उपलब्ध हुने लाभलाई कसरी धेरै बनाउने र चुनौतीको कसरी सामाना गर्ने विषय सोह्रौं योजनामा पनि उल्लेख हुनेछ र त्यसै अनुसार कार्यान्वयन गरिनेछ ।’

सहुलियत र निर्यातमा पहल

सरकारले आगामी वर्षको बजेट मार्फत विकासशील मुलुकमा स्तरोन्नति हुँदा नेपालले अहिले पाएको व्यापार सहुलियत कायम नहुने अवस्था रहेकाले निर्यातलाई प्रोत्साहन र सहुलियतका लागि पहल गर्न युरोपियन युनियन र अमेरिका लगायत अन्य राष्ट्रसँग द्विपक्षीय वार्ता गर्ने बताएको छ ।

‘नेपाल सन् २०२६ पछि अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदा हाल पाइरहेको व्यापार सहुलियत कायम नहुने अवस्था रहेको छ,’ बजेट वक्तव्यमा भनिएको छ, ‘युरोपियन युनियन र अमेरिका लगायत अन्य राष्ट्रसँग द्विपक्षीय वार्ता गरी निर्यातलाई प्रोत्साहन र सहुलियतका लागि पहल गरिनेछ ।’

अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएपछि सिर्जना हुने चुनौतीको सम्बोधन र अवसरको उपयोग गर्ने नीतिगत व्यवस्था गरी क्षेत्रगत कार्यक्रम तय गरिने उल्लेख गरिएको छ ।

 

काभ्रेको बनेपामा हेलीपोर्ट निर्माण गर्न मन्त्रालयले दिएको अनुमति प्राधिकरणले रोक्यो Read Previous

काभ्रेको बनेपामा हेलीपोर्ट निर्माण गर्न मन्त्रालयले दिएको अनुमति प्राधिकरणले रोक्यो

खाद्यन्न उत्पादन ५.७ प्रतिशतले बढ्यो, अण्डा उत्पादन २६.३ प्रतिशत घट्यो Read Next

खाद्यन्न उत्पादन ५.७ प्रतिशतले बढ्यो, अण्डा उत्पादन २६.३ प्रतिशत घट्यो