काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भैरहवाबाट भारतको नयाँ दिल्ली सिधा उडान गर्ने भएको छ ।
काठमाडौंबाट दिल्ली सिधा उडान गरिरहेको नेपाल एयरलाइन्सले भैरहवाबाट पनि उडान सञ्चालन गर्न लागेको हो ।
विश्व प्रसिद्ध लुम्बिनीलाई हवाई मार्फत नयाँ दिल्लीसँग जोडेर त्यहाँबाट पर्यटक भित्र्याउने उद्देश्यले उडान विस्तार गर्न लागिएको निगमले जनाएको छ ।
भैरहवाबाट हङकङ र नयाँदिल्लीमा उडान सञ्चालनको अन्तिम तयारी भइरहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । ‘भैरहवाबाट हङकङ उडानको तयारी गरेका छौँ, एक/दुई दिनमै टुङ्गो लाग्छ । नयाँदिल्लीसहित अन्य मुलुकमा पनि उडान विस्तार गर्ने योजना छ,’ उनले भने।
प्रवक्ता पौडेलका अनुसार अबको १५ दिनभित्र ती दुवै गन्तव्यमा उडान गर्नेगरी टिकट बुकिङ खुला गरिनेछ । दुबई, दोहालगायत गन्तव्यमा पनि भैरहवाबाट उडान सञ्चालन गर्ने योजना छ ।
निगमले हाल काठमाडौँबाट नयाँदिल्लीमा दैनिक दुई उडान भरिरहेको छ । अब भैरहवाबाट नयाँ दिल्लीमा कति उडान गर्ने भन्ने अहिले टुङ्गो लागिनसकेको प्रवक्ता पौडेलले बताए ।
गत जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गरेको निगमले हाल भैरहवा–मलेसिया र मलेसिया–भैरहवा–काठमाडौँमा उडान गरिरहेको हो ।