‘बेलुन’ जडान नहुँदा संचालनमा आउन सकेन टेकु बायो ग्यास प्लान्ट

काठमाडौं । काडमाडौं महानगरपालिकाको टेकुस्थित बायो ग्यास प्लान्टको मर्मत सकिएको पाँच महिना बिते पनि अझै संचालनमा आउन सकेको छैन ।

राष्ट्रिय आविष्कार केन्द्रले मर्मत सम्भार गरी उक्त ग्यास प्लान्ट महानगरपालिकालाई हस्तान्तरण गरे पनि आवश्यक उपकरण जडान हुन नसक्दा अझै संचालनमा आउन नसकेको हो ।

फोहोरबाट ग्यास उत्पादन गर्ने उक्त प्लान्टमा ग्यास संकलन गर्ने बेलुन (उत्पादित ग्यास स्टोर गर्ने ट्यांकी जस्तै उपकरण) जडान हुन नसक्दा संचालनमा आउन नसकेको हो ।

महानगरका वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले प्लान्टमा बायो ग्यासबाट उत्पादिन ग्यास भर्ने  बेलुन जडान नहुँदा संचालनमा ल्याउन नसकिएको बताए ।

उनले उक्त बेलुन भारतबाट ल्याइसकिएकाले अब चाँडै जडान गरी प्लान्ट संचालनमा ल्याइने बताए । उनले उक्त बेलुनको मूल्य ६/७ लाख रुपैयाँ पर्ने बताए ।

‘अब २ महिनामा प्लान्ट सञ्चालनमा आउँछ, बेलुन हाल्न बाँकी थियो, त्यो आइसक्यो, अर्को महिना जडान भइसकेपछि, बेलुनमा ग्यास भरेर राख्नुपर्छ, त्यतिकै गरे पड्किन्छ,’ श्रेष्ठले चाणक्य पोष्टसँग भने ।

उक्त प्लान्टमा जडान गर्ने बेलुन झन्डै एक तले घर जत्रो हुने छ । उक्त बेलुनमा प्लान्टबाट उत्पादन हुने ग्यास संकलन गरिनेछ । बायो ग्यास प्लान्ट भित्र २ वटा कुहिने फोहोर राख्ने क्षमताको ट्यांकर रहेको छ । उक्त ट्यांकरमा ३ देखि ४ टन फोहोर अटाउने छ ।

विगत ९ वर्षदेखि जीर्ण अवस्थामा रहेको उक्त बायो ग्यास प्लान्ट राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गरी संचालन गर्न मिल्ने बनाएको हो । महानगरपालिकाले हालसम्म बायो ग्यास मर्मतका क्रममा साझेदारीमा ६५ लाख रुपैयाँ खर्च भएको जनाएको छ ।

बायो ग्यास प्लान्ट संचालनमा आएपछि प्रत्येक दिन ९६ केजी बायो ग्यास उत्पादन गर्ने छ । प्लान्टले दैनिक १५ सय केजी मल उत्पादन गर्न सक्ने छ । टेकु प्लान्टमा ३०० टन फोहोरबाट १४ किलोवाट विद्युत् उत्पादन गर्ने लक्ष्य महानगरको रहेको छ ।

वि.सं. २०७१ सालमा दाताको सहयोगमा बायो ग्यास मेसिन ल्याइएको थियो । युरोपेली युनियन (इयू)ले महानगरको २० प्रतिशत र अन्य ८० प्रतिशत लागत आफैँले व्यहोर्ने गरी १ करोड ८६ लाखको प्लान्ट ल्याएर टेकुमा जडान गरिदिएको थियो । बिजुली र ग्यासलगायत नवीकरणीय ऊर्जा उत्पादन गर्न सकिने यस प्लान्टको प्रयोगले सहरभित्रको अधिकांश फोहोरलाई मोहोरको रूपमा प्रयोग गर्न सक्ने विश्वास राखिएको थियो ।

२०७४ मा मेयरमा चुनिएलगत्तै विद्यासुन्दर शाक्यले बिजुली बालेर उद्घाटन गरेका थिए । त्यसपछि यो प्लान्ट बन्द अवस्थामा रहेको थियाे । गतवर्ष महानगरकाे नेतृत्वमा बालेन्द्र शाह आएसँगै उक्त बायो ग्यास प्लान्टको मेसिन मर्मतका लागि आविष्कार केन्द्रलाई जिम्मा दिइएको थियो ।

हाल काठमाडौंमा दैनिक करिब हजार मेट्रिकटन फोहोर उत्पादन हुन्छ । सो फोहोरको केही प्रतिशत पनि काठमाडौंमा व्यवस्थापन गर्न सकिने अवस्था छैन ।

 

नेप्सेमा थप दुई लघुवित्त बोनस सेयर सूचीकृत Read Previous

नेप्सेमा थप दुई लघुवित्त बोनस सेयर सूचीकृत

सोह्रौं योजनाको तयारीमा जुट्यो योजना आयोग, संरचनागत परिवर्तन मुख्य चुनौती Read Next

सोह्रौं योजनाको तयारीमा जुट्यो योजना आयोग, संरचनागत परिवर्तन मुख्य चुनौती