काठमाडौं महानगरको बजेट : आस्फाल्ट प्लान्टदेखि १०० चोकमा हाइमास्ट लाइट, यस्ता छन् ५ पूर्वाधार योजना

सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार उपमेयर सुनीता डंगोलले नगरसभाको बैठकमा उक्त बजेट पेश गरेकी हुन् ।

उपमेयर डंगोलका अनुसार महानगरको चालु खर्चतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार (३३.७२ प्रतिशत) र पूँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ (६६.२८ प्रतिशत)विनियोजन गरिएको छ ।

महानगरको बजेटको प्रमुख स्रोत बैंक मौज्दात रहेको छ । उनका अनुसार महानगरको बैंक मौज्दात ११ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, आन्तरिक आय ६ अर्ब ३९ करोड, राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड रुपैयाँ, संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदान १ अर्ब ४५ करोड ६२ लाख, निशर्त अनुदान ८९ करोड ३६ लाख, सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब रुपैयाँ प्राप्त हुने उपमेयर डंगोलले जानकारी दिइन् ।

महानगरले बजेटमा सार्वजनिक पूर्वाधार निर्माण तथा सुधारलाई उच्च प्राथमिकतामा राखेको छ । यसका लागि महानगरले गत आर्थिक वर्षको क्रमागत योजनासहित कुल रु. ७ अर्ब ३४ करोड ६४ लाख ७१ हजार रकम विनियोजन गरेको छ ।

महानगरले बजेटमा वडा कार्यालय भवन निर्माण, सडकको स्तरोन्नित, लाइट जडान, सीसीटीभी क्यामेरा जडान, पूर्वाधार एम्बुलेन्स, अस्फाल्टा उत्पादन गर्ने उद्योग खोल्ने लगायतका योजना समेटेको छ ।

यस्ता छन् महानगरको बजेटमा समेटिएका पूर्वाधार योजना र बजेट

१. महानगर क्षेत्रभित्रका सम्पूर्ण सडक तथा पेटीमध्ये डीपीआर भएका सडक तथा पेटीहरू मर्मत तथा निर्माण गरि ‘धुलोरहित काठमाडौं‘ योजनालाई कार्यान्वयन गरिनेछ । यस योजना अन्तर्गत विभिन्न कार्यक्रम संचालन गर्न रु. १०० करोड रकम विनियोजन गरेको छ ।

२. महानगरले सडक निर्माण कार्यलाई थप व्यवस्थित बनाउन आफ्नै आस्फाल्ट प्लान्ट स्थापनासहित पूर्वाधार एम्बुलेन्सलाई प्रभावकारी रुपमा संचालन गर्न रु. २५ करोड रकम विनियोजन गरेको छ ।

३. महानगर क्षेत्रभित्रका प्रमुख सडकहरूमा फाइवर तथा अन्य केवल विस्तारको लागि आफ्नो ‘युटिलिटी डक्ट’ निर्माण गरी सेयर्ड इन्फ्रास्ट्रक्चरको अवधारणा अनुरुप कार्य अगाडि बढाउन रु. १० करोड बजेट विनियोजन गरिएको छ ।

४. महानगर क्षेत्रभित्रका सडक, रेलिङ, वाल, कार्यालय परिसर, पार्क क्षेत्रलाई नियमित एवं स्वचालित रुपमा सुन्दर तथा जीवन्त बनाई राख्ने उद्देश्यले संचालित ‘सुन्दर महानगर योजना’ अन्तर्गत रु. २५ करोड रकम छुट्याइएको छ ।

५. ‘उज्यालो शहर, मेरो महानगर’ योजना अन्तर्गत महानगरका सबैसडक तथा गल्लीमा सडक बत्ती जडान गर्ने एवं महानगरका १०० वटा मुख्य चोक तथा क्षेत्रहरूमा हाइमास्ट लाइटसहितको व्यवस्था गर्ने कार्यक्रमको लागि रु. ३० करोड रकम विनियोजन गरिएको छ ।

अर्बौं खर्चेर बनाइएका २ दर्जन विमानस्थल छैनन् संचालनमा, नयाँ बनाउने लहड Read Previous

अर्बौं खर्चेर बनाइएका २ दर्जन विमानस्थल छैनन् संचालनमा, नयाँ बनाउने लहड

काठमाडौंमा पार्किङ प्रयोजनका लागि भवन बनाए १० वर्षसम्म कर छुट पाउने Read Next

काठमाडौंमा पार्किङ प्रयोजनका लागि भवन बनाए १० वर्षसम्म कर छुट पाउने