काठमाडौं । सरकारले चालु अर्थिक वर्ष २०७९/८० बजेटमा गरेको व्यवस्थाले सिमेन्ट निर्यातमा ‘चाँदीको घेरा’ देखाएको छ । सरकारले बजेटमार्फट सिमेन्ट, डण्डी, प्लाइवुड लगायत वस्तुको निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरेसँगै यी वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको हो ।
गत वर्षको तुलनामा चालु वर्षमा सिमेन्ट निर्यात सयौं गुणाले बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ११ महिना (साउन-जेठसम्म) ६८ करोड १४ लाख रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिङकर निर्यात भएको छ । यस अवधिमा ८ लाख ९३ हजार टन बढी सिमेन्ट निर्यात भएको हो । जबकि गत वर्ष करिब १५ लाख बराबरको मात्र निर्यात भएको थियो ।
नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेकाले अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकिने सम्भावना प्रचुर देखिएको छ । नेपाली सिमेन्ट उद्योगले क्षमता अनुसार उत्पादन गर्ने र सो उत्पादन अन्तर्राष्ट्रिय बजार पुर्याउने हो भने खर्ब बढीको निर्यात गर्न सक्ने सम्भावना रहको व्यवसायीहरू बताउँछन् ।
हाल नेपाबाट ३ सिमेन्ट उद्योगले निर्यात गरिरहेका छन् । नेपालबाट गत असार २४ गतेदेखि पाल्पा सिमेन्टको तानसेन र असोज ३१ गतेदेखि अर्घाखाँची सिमेन्ट भारत निर्यात सुरु भएको थियो ।
यस्तै, जेठ २९ देखि बालाजी सिमेन्टले पनि निर्यात सुरू गरेको छ । आगामी दिनमा जगदम्बा, सर्वोत्तम र सौर्यलगायत सिमेन्ट उद्योग पनि निर्यातको तयारीमा रहेको बताइन्छ ।
अहिले भारतीय बजारमा पनि नेपाली सिमेन्ट बजारीकरण हुन नसकेको र बजारीकरण गर्न सक्ने तत्कालै अर्बौंको सिमेन्ट निर्या गर्न सकिने नेपाल सिमेन्ट उत्पादक संघले जनाएको छ ।
नेपाली सिमेन्ट उद्योगले भारत निर्यातका लागि भारत सरकारबाट गुणस्तर प्रमाणित प्रमाणपत्र लिनुपर्नेछ । त्यसका लागि धेरै उद्योगहरू तयारीमा रहे पनि सहज वातारण सृजना हुन नसक्नुका कारण अन्य कम्पनीहरू निर्यात तर्फ लाग्न सकिरहेका छैनन् ।
सिमेन्ट उत्पादक सङ्घको तथ्याङ्क अनुसार नेपालमा ५० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन् । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिङ्कर दुवै उत्पादन गर्दै आएका छन । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै २ करोड २० लाख टन हाराहारी रहेको छ ।
२९ करोडको सिमेन्ट आयात
चालु आवजेठसम्म ६८ करोडको सिमेन्ट भए पनि सोही अवधिमा झन्डै २९ करोडको सिमेन्ट तथा सिमेन्टजन्य वस्तु आयात भएको छ ।
विभागका अनुसार जेठसम्म कुल २८ करोड ८४ लाख रुपैयाँ बराबरको ३ लाख १ हजार टन सिमेन्ट तथा क्लिङकर आयात भएको हो ।
नेपाल सिमेन्टमा आत्मनिर्भर रहे पनि केही विशेष गुणस्तरका सिमेन्ट र विदेशी ठेकेदारले जिम्मा लिएका आयोजनाका लागि सो रकम बराबरको सिमेन्ट आयात भएको हो ।
फलाम तथा स्पात निर्यात ३ गुणाले बढ्यो
चालु आवमा फलाम तथा फलाम जन्य वस्तुको निर्यात झन्डै ३ गुणाले बढेको छ । गत वर्ष ३ अर्ब ७४ करोडको फलाम जन्य वस्तु निर्यात भएकोमा चालु आवमा बढेर ९ अर्ब ८९ करोड रूपैयाँको पुगेको छ ।
यस्तै, फलाम तथा स्पात आयातमा पनि गिरावट आएको छ । गत वर्ष १८ अर्ब ५४ करोडको फलाम तथा फलाम जन्य वस्तु आयात भएकोमा चालु वर्षमा घटेर १५ अर्ब ३८ करोड रूपैयाँमा सीमित भएको छ ।