काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता (लगानीयोग्य रकम) भएपछि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ खिच्ने भएको छ ।
राष्ट्र बैंकले रिभर्स रिपोमार्फत बैंकिङ प्रणालीबाट १० अर्ब रुपैयाँ तान्न लागेको हो । राष्ट्र बैंकले एक सूचना जारी गर्दै राष्ट्र असार १४ गतेसम्म (७ दिन)का लागि बोलकबोलमार्फत १० अर्ब खिच्न लागेको जनाएको छ ।
राष्ट्र बैंकले झन्डै ५ महिनापछि बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको हो । यसअघि गत माघ १२ गते ५ अर्ब रुपैयाँ तानेको थियो ।
कर्जाको माग नहुँदा पछिल्लो समय बैंकिङ प्रणालीमा पैसा थुप्रिने क्रम बढ्दो छ । हाल प्रणालीमा ३ खर्बभन्दा बढी तरलता थुप्रिएको छ । तरलता सहज भएसँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८४ प्रतिशतभन्दा तल झरिसकेका छ ।
बैंकिङ प्रणालीमा पैसा थुप्रिएसँगै अन्तर बैंकदर, ट्रेजरी बिलको ब्याजदर पनि घट्दै गएको छ । २८ दिने ट्रेजरी बिलको दर एक साताअघि ६.६ प्रतिशत रहेकोमा हाल ४.२ प्रतिशतको सीमामा झरेको छ । त्यस्तै, अन्तर बैंक ब्याजदर ४.०१ प्रतिशतमा झरेको छ ।