काठमाडौं महानगरले एक वर्षमै बनायो २५ नयाँ पार्क, १२३ रोपनी सार्वजनिक जग्गा संरक्षण

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा २५ वटा नयाँ पार्क बनाएको छ । महानगरप्रमुख बालेन्द्र शाहले निर्वाचनको बेला भएको घोषणाअनुसार नै शारीरिक तन्दुरुस्ती, सतर्कता र भावनात्मक रूपमा स्थिरता कायम राख्ने पार्कको निर्माण गरिएको जानकारी दिए ।

यस्तै, महानगरले चालु आवको हालसम्मको अवधिमा १२३ रोपनी सार्वजनिक जग्गा संरक्षण गरेको जनाएको छ । सार्वजनिक जग्गा अनधिकृत प्रयोग भएको जनगुनासो सम्बोधन गर्ने क्रममा कामपाले चालु आवमा १२३ रोपनी सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएको महानगर प्रमुख शाहले बताए।

उनका अनुसार एक वर्षअघि भएको स्थानीय तहको निर्वाचनको समयमा आफूले जारी गरेको घोषणापत्रअनुसार काम गर्दै जाने क्रममा एक वर्षको अवधिमा उक्त सार्वजनिक जग्गाको संरक्षण गर्न सम्भव भएको हो ।

घोषणपत्रमा भनेअनुसारको काम गर्ने पुनः प्रतिबद्धता जनाउँदै प्रमुख शाहले नयाँ पार्क निर्माण, स्मार्ट सडक बत्ती जडान, फुटपाथमा राखिने गरिएका पसल हटाउने र त्यसको सहज प्रयोगमा ल्याउने काम पनि एक वर्षको अवधिमा भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

सहरको सुरक्षा र पैदलयात्रीलाई सहजता प्रदान गर्नका लागि कामपाले यस अवधिमा १ हजार ७०० स्मार्ट सडक बत्ती जडान गरेको छ । त्यस्तै ४२ किलोमिटर सडक कालोपत्र, सात किलोमिटर नयाँ ढल निर्माण, एक हजार पाँच सय मिटर फुटपाथ निर्माण भएको पनि प्रमुख शाहले जानकारी गराए ।

सार्वजनिक शौचालय र सामुदायिक विद्यालय भवन निर्माण तथा मर्मत पैदलयात्रीको सहजताका लागि सडक किनारामा राखिने फुटपाथ पसल हटाएर यात्रुलाई आवागमन गर्न सहज र सरल बनाइएको छ । जसका कारण बानेश्वर, बसपार्कलगायतका स्थानमा आवतजावतमा निकै सहज भएको बताइएको छ ।

त्यसैगरी यसै शैक्षिक सत्रदेखि कामपामा रहेका सबै सामुदायिक विद्यालयमा पहिलोपटक बुक फ्रि फ्राइडे कार्यक्रम सञ्चालन भइरहेको छ भने माध्यमिक तह कक्षा ९ देखि १२ सम्म शिक्षामा सिम कार्यक्रम लागू भइसकेको छ । कामपामा रहेका ५९ वटा माध्यमिक विद्यालयमध्ये ५६ वटामा यो कार्यक्रम लागू भइसकेको छ ।

अब लुम्बिनी प्रदेशका सबै यातायात कार्यालयबाट ‘रुट परमिट’ लिन सकिने Read Previous

अब लुम्बिनी प्रदेशका सबै यातायात कार्यालयबाट ‘रुट परमिट’ लिन सकिने

बैंकमा पैसा थुप्रिएपछि १० अर्ब तान्दै राष्ट्र बैंक Read Next

बैंकमा पैसा थुप्रिएपछि १० अर्ब तान्दै राष्ट्र बैंक