एजेन्सी । भारतको बजेट एयरलाइन्स इन्डिगोले एकैपटक ५०० जहाज किन्ने सम्झौता गरेको छ । एयरलाइन्सले फ्रेन्च एरोस्पेस जायन्ट एयरबससँग अहिलेसम्मकै ठूलो एयरक्राफ्ट सम्झौता गरेको हो ।
सन् २०३० देखि २०३५ भित्र ५०० वटा ए थ्री ट्वान्टी जहाज डेलिभरी दिने गरी सम्झौता भएको हो । यो खरिद सम्झौता हवाई क्षेत्रमा हालसम्म कुनै पनि कम्पनीले गरेको सबैभन्दा ठूलो एकल खरिद सम्झौता भएको बताइएको छ ।
पेरिस एयर शोका क्रममा कम्पनीका सहसंस्थापक राहुल भाटियाले एयरबससँग यो सम्झौता गरेका हुन् । १८ वर्षअघि उनले यसै प्लाटफर्ममार्फत पहिलोपटक कम्पनीको लागि जहाज किनेका थिए
।
इन्डिगो एयरलाइन्सले ती जहाज ५० अर्ब अमेरिकी डलरमा खरिद गर्ने जनाइएको छ । यद्यपि, यो कम्पनीले केही छुट पाएपछिको रकम हो ।
इन्डिगो बजार हिस्साका आधारमा भारतकै मुख्य एयरलाइन्स कम्पनी हो । सन् २००६ मा स्थापना भएको यस एयरलाइन्सको भारतको आन्तरिक बजार हिस्सा ६० प्रतिशत रहेको बताइएको छ।
यसअघि गरेको सम्झौता अनुसार एयरबसले इन्डिगोलाई ४८० वटा जहाज डेलिभर गर्न बाँकी नै छ । हालको नयाँ अर्डरले कम्पनीलाई आगामी दिनमा अझ बढी आक्रमक रुपमा हवाई क्षेत्रमा स्थापित हुन सघाउने कम्पनीले जनाएको छ।