अर्थ समिति आफ्नै निर्णयबाट ‘ब्याक’, नयाँ ब्रोकर लाइसेन्स प्रक्रिया अघि बढाउन निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नयाँ स्टक ब्रोकर (धितोपत्र दलाल)को लाइसेन्स प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।

मंगलबार नेपाल धितोपत्र बोर्डका पदाधिकारीहरुसँग छलफलपछि अर्थ समितिले विधि र प्रक्रिया पुर्‍याएर लाइसेन्स प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको हो ।

यसअघि जेठ २९ मा बसेको बसेको समितिको बैठकले तत्काललाई स्टक ब्रोकर र स्टक एक्सचेन्जको लाइसेन्सको प्रक्रिया रोक्न निर्देशन दिएको थियो ।

साथै, समितिले बोर्डका पदाधिकारीहरुलाई छलफलमा समेत बोलाएको थियो । मंगलबार बोर्ड अध्यक्ष रकेश कुमार हमालसहित भएको छलफलपछि अर्थ समिति यसअघिको आफ्नै निर्णयबाट पछि हट्दै लाइसेन्स प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

अर्थ समितिले जेठ ७ गते धितोपत्र बोर्डलाई पत्र लेख्दै नयाँ स्टक र ब्रोकर लाइसेन्स वितरण तथा अर्थ समितिले तयार पारेको सुझाव प्रतिवेदन कार्यान्वयनको अवस्थाबारे जानकारी मागेको थियो ।

धितोपत्र बोर्डले अर्थसमितिलाई जेठ १२ गते जवाफ पठाए पनि बोर्डलाई बैठकमा बोलाएरै जवाफ लिनुपर्नेमा सांसदहरूले बताएका थिए । साेही अनुसार आज बोर्ड अध्यक्ष हमाल आफैं समितिको बैठकमा गएका थिए ।

धितोपत्र बोर्डले जेठ ८ गते सात र जेठ २२ गते ११ गरी १८ वटा कम्पनीलाई धितोपत्र व्यापारी र ब्रोकर लाइसेन्ससमेत दिइसकेको छ । यसरी लाइसेन्स पाइसकेका कम्पनीले न्यूनतम मापदण्ड पूरा गरे/नगरेको बारे अनुसन्धान गर्न आवश्यक रहेको भन्दै अर्थ समितिले प्रक्रिया रोक्न निर्देशन दिएको थियो ।

इन्डिगो एयरलाइन्सले एकैपटक अर्डर गर्‍यो एयरबसका ५०० जहाज Read Previous

इन्डिगो एयरलाइन्सले एकैपटक अर्डर गर्‍यो एयरबसका ५०० जहाज

केन्द्र सरकारले उठाएको घरबहाल कर आफूलाई उपलब्ध गराउन महानगरको पत्राचार Read Next

केन्द्र सरकारले उठाएको घरबहाल कर आफूलाई उपलब्ध गराउन महानगरको पत्राचार