राष्ट्र बैंकको कडाइपछि ३३ अर्बले घट्यो सेयर कर्जा, कुन बैंकको कति छ लगानी ?

काठमाडौं । नेपाल राष्ट्र बैंकको कडाइपछि सेयर धितो कर्जा (मार्जिन लोन)मा भारी गिरावट आएको छ । पछिल्लो २ वर्षमा वाणिज्य बैंकहरूले सेयर धितोमा प्रदान गर्ने ऋण ३६.४१ प्रतिशतले घटेको हो ।

२०७८ असार मसान्तसम्म वाणिज्य बैंकहरूले कुल ९० अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए । चालु आवको वैशाख मसान्तसम्म यस्तो कर्जा ३३ अर्बले घटेर ५७ अर्ब ८१ करोडमा सीमित भएको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा कडाइ गरेका थियो । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत एक व्यक्तिले एउटा बैंकबाट ४ करोड र समग्र बैंकिङ प्रणालीबाट बढीमा १२ करोड मात्र ऋण लिन पाउने व्यवस्था गरेको थियो ।

त्यस्तै, सेयर धितो कर्जामा कायम रहेको जोखिम भार १०० प्रतिशतबाट बढाएर १५० प्रतिशत पुर्याएको थियो । राष्ट्र बैंकले सेयर बजारलाई अनुत्पादक क्षेत्र भन्दै कर्जा लगानीमा कडाइ गरेपछि यो क्षेत्रमा जाने कर्जामा भारी गिरावट आएको हो ।

राष्ट्र बैंकको कडाइपछि ओरालो लागेको सेयर बजार ३२०० अंकबाट घटेर १८०० बिन्दुसम्म आइपुगेको थियो । सेयर लगानीकर्ताले यी व्यवस्था हटाउन लामो समयदेखि माग गर्दै आए पनि राष्ट्र बैंकले अहिलेसम्म संबोधन गरेको छैन । यद्यपि, एउटा बैंकबाट ४ करोड मात्र ऋण लिन पाउने व्यवस्थालाई सहज बनाउँदै १२ करोडसम्म ऋण लिन पाउने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकको कडाइ अघि बैंकहरूले ७/८ प्रतिशत ब्याजदरमै सेयर कर्जा उपलब्ध गराउँदै आएका थिए । त्यसयता भने बैंकहरूले सेयर कर्जा दिनभन्दा पनि असुलीमा ध्यान केन्द्रित गरे । जसकारण २ वर्षमै सेयर कर्जा ३३ अर्बले घट्यो । यद्यपि, अहिले बैंकिङ प्रणालीमा अधिक तरलता कायम भएपछि बैंकहरूले लगानी बढाउन सेयर कर्जामा आकर्षक स्कीम ल्याउन थालेका छन् ।

कुन बैंकले कति दिएका छन् सेयर कर्जा ?

चालु वर्षको वैशाखसम्म वाणिज्य बैंकहरूले कुल ५७ अर्ब ८१ करोड सेयर कर्जा लगानी गरेका छन् । २१ वाणिज्य बैंकमध्ये विदेशी लगानीको स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने मार्जिन प्रकृतिको कर्जा लगानी नगरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा नबिल बैंकले सबैभन्दा धेरै ८ अर्ब २३ करोड ऋण लगानी गरेको छ भने नेपाल एसबीआइ बैंकले सबैभन्दा कम २ करोड २२ लाख रुपैयाँ मात्र कर्जा प्रवाह गरेको छ ।

यसैगरी, ग्लोबल आइएमई बैंकले ६ अर्ब २७ करोड, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ४ अबै ११ करोड, प्रभु बैंक ३ अर्ब ९५ करोड, सिद्धार्थ र इन्भेष्टमेन्ट मेगाले समान ३ अर्ब ७५ करोड रुपैयाँ सेयर कर्जा लगानी गरेका छन् ।

त्यस्तै, नेपाल, सिटिजन्स, कुमारी, प्राइम, हिमालयन बैंकले ३/३ अर्ब बढी सेयर कर्जा प्रवाह गरेका छन् भने लक्ष्मी बैंकले २ अर्ब लगानी गरेको छ । एनएमबी, सानिमा, कृषि, एनआइसीले १ अर्ब बढी सेयर कर्जा लगानी गरेका छन् भने एभरेष्ट र माछापुच्छ्रेले १ अर्बभन्दा कम ऋण दिएका छन् ।

 

 

 

काठमाडौं महानगरले ११ महिनामा उठायो सवा ८ अर्ब राजस्व Read Previous

काठमाडौं महानगरले ११ महिनामा उठायो सवा ८ अर्ब राजस्व

पर्यटकको आकर्षण बन्दै ‘नौबिसे ट्रयाम्प जिपलाइन’, कति लाग्छ शुल्क ? Read Next

पर्यटकको आकर्षण बन्दै ‘नौबिसे ट्रयाम्प जिपलाइन’, कति लाग्छ शुल्क ?