काठमाडौं महानगरले ११ महिनामा उठायो सवा ८ अर्ब राजस्व

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा रु ८ अर्ब राजस्व सङ्कलन गरेको छ ।

आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आव २०७९/८० को ११ महिनामा रु ८ अर्ब २९ करोड ९५ लाख ५९ हजार २७८ राजस्व सङ्कलन गरिएको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । उनका अनुसार यो रकम महानगरको राजस्व लक्ष्यको ७९ प्रतिशत मात्रै हो ।

महानगरपालिकाले चालु आवका लागि राजस्व लक्ष्य रु १० अर्ब ४२ करोड ९५ लाख राखेको थियो । यसमध्ये सबैभन्दा धेरै प्रगति महानगरले आन्तरिक आयतर्फ गरेको छ । राजस्व सङ्कलनमध्ये महानगरपालिकाले आन्तरिक आयतर्फ ९८.८७ प्रतिशत हासिल गरेको जनाएको छ ।

महानगरपालिका रु ४ अर्ब ८५ करोड आन्तरिक आयको राजस्व लक्ष्यमध्ये रु ४ अर्ब ७७ करोड उठाएको हो । जुन अघिल्लो आवको भन्दा एक अर्ब बढी भएको विभागले जनाएको छ ।

विभागका अनुसार आव २०७८/७९ मा महानगरले रु तीन अर्ब ७२ करोडमात्रै आन्तरिक आय सङ्कलन भएको थियो । महानगरपालिकाले आन्तरिक आयतर्फ घरबहाल करमा रु १ अर्ब ९२ करोड १२ लाख ८० हजार राजस्व सङ्कलन गरेको छ ।

चालु आवमा महानगरपालिकाले यो शीर्षकमा रु २ अर्ब राजस्व उठाउने लक्ष्य राखेको थियो । यस्तै सम्पत्ति करमा रु ९१ करोड ३३ लाख राजस्व सङ्कलन गरेको छ । जुन अघिल्लो आवको भन्दा रु १२ करोडले बढी भएको जनाइएको छ ।

महानगरलाई राजस्व लक्ष्यमा पुग्न राजस्व बाँडफाँट भएर आउने रकमले असर परेको देखिएको छ । यसैगरी महानगरले बाँडफाँटबाट प्राप्त हुने राजस्वबाट रु १ अर्ब ५५ करोड ८९ लाख जम्मा गरेको छ ।

राजस्व बाँडफाँट पाउनुपर्नेमा महानगरपालिकालाई प्राप्त भएको अघिल्लो आवको भन्दा झन्डै रु १अर्बले कमी भएको देखिन्छ । गत आव २०७८/७९ मा राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम रु एक अर्ब ७५ करोड ५४ लाख थियो, जनु १०६ प्रतिशत रहेको थियो । तर यो पटक लक्ष्यको जम्मा ४५ प्रतिशतमात्रै महानगरलाई बाँडफाँट भएको हो ।

गत आवमा रु २ अर्ब ५८ करोड २५ लाख राजस्व बाँडफाँटबाट आउने रकम लक्ष्य राखेकामा जेठ मसान्तसम्म रु २ अर्ब ७५ करोड ५४ लाख अर्थात् १०६ प्रतिशत बाँडफाँट भएको थियो । तर चालु आव ३ अर्ब ४१ करोड ३१ लाख लक्ष्य राखेकामा रु १ अर्ब ५५ करोड ८९ लाखमात्रै उठेको हो ।

महानगरपालिकाको राजस्व विभागका अनुसार चालु आवको राजस्वको लक्ष्य भेटन् नसक्नुमा महानगरलाई प्राप्त हुने राजस्व बाँडफाँट हो । विभागका प्रमुख ध्रुव काफ्लेले महानगरले पर्याप्त आन्तरिक राजस्व उठाए पनि बाँडफाँट भएर आउने रकम कम हुँदा लक्ष्य प्राप्तिको दूरी टाढा भएको बताए। राजस्व विभागका अनुसार चालु आवमा आन्तरिक अनुदानतर्फ रु १ अर्ब ९६ करोड ९६ लाख महानगरको राजस्व जम्मा भएको छ ।

कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन Read Previous

कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

राष्ट्र बैंकको कडाइपछि ३३ अर्बले घट्यो सेयर कर्जा, कुन बैंकको कति छ लगानी ? Read Next

राष्ट्र बैंकको कडाइपछि ३३ अर्बले घट्यो सेयर कर्जा, कुन बैंकको कति छ लगानी ?