किन आयो किसानले दुःखले फलाएको गोलभेँडा सडकमा फ्याँक्नुपर्ने अवस्था ?

काठमाडौं । नेपाललाई कृषिप्रधान देश भनिन्छ । तर, यहाँ किसान हुन जति पीडा, हैरानी सायद अरु पेशामा भोग्नु पर्दैन ।

खेती गर्ने बेलामा सधैं मल, बीउको अभाव झेल्नुपर्छ । ठूलो दुःख र मेहनतले उत्पादन गरेको वस्तुले बजार नपाउँदा कि कौडीको भाउमा बेच्नुपर्ने, कि सडकमा फाल्नुपर्ने बाध्यता छ ।

राज्यको गैर जिम्मेवारी, निकम्पना र बिचौलिया हाबी हुँदा कृषक आफ्नो दुःख, पसिना, आँसु सडकमा बगाउन विवश छन् । आफ्नो उत्पादनले उचित मूल्य नपाउँदा कृषकले दूध, अण्डा, तरकारी, केरा लगायत फलफूल सडकमा पोख्दै/फाल्दै आएका छन् ।

यसैको पछिल्लो दृष्टान्त हो, आइतबार कालिमाटी तरकारी बजारमा भएको घटना । किसानले गोलभेँडाको उचित मूल्य नपाएको भन्दै हजारौं झन्डै ३० हजार केजी गोलभेँडा सडकमा फालेर विरोध गरे । किसान र विक्रेता दुवैले गोलभेँडा फ्याँकेका हुन् ।

कालिमाटी बजारमै भारतीय गोलभेँडा महँगोमा बिक्री भइरहेको तर, नेपाली कृषकले उत्पादन गरेको गोलभेँडा प्रतिकेजी २ रुपैयाँमा पनि बिक्री नभएको भन्दै किसानले सडकमा फालेका हुन् ।

आखिर किन आयो गोलभेँडा फाल्नुपर्ने अवस्था ?

बजारमा भएको गोलभेँडा विक्री हुन छाडेपछि गोलभेँडा फ्याक्न बाध्य भएको कालिमाटी तरकारी व्यवसाय संघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए ।

उनका अनुसार उत्पादन बढेको तर खपत हुन नसकेपछि गोलभेँडा फ्याक्नु पर्ने अवस्था आएको हो । उनले कालिमाटी बजारमा १० रुपैयाँ देखि १५ रुपैयाँ केजीमा गोलभेँडा बेच्दा समेत बिक्री नभएको बताए ।

उनले गोलभेँडा खपत गर्न वैकल्पिक उपायका रूपमा, केचअप तथा घरेलु उद्योग नभएका कारण किसान र व्यवसायी दुवैले घाटा बेहोर्नु परेको बताए ।

देशभर २५० देखि ३०० टन गोलभेँडा माग रहेको छ । हाल बजारमा ५०० टनसम्म गोलभेँडा हुँदा विक्री खरिदकर्ता नभएको र भण्डार गर्दासमेत धेरै दिन राख्दा कुहिने भएकोले नष्ट गर्नुपर्ने अवस्था आएको बताए ।

उनले देशभरका टनेल र खेतबाट समेत एकैपटक गोलभेँडा बजारमा आएका कारण मागभन्दा बढी हुन पुगेको बताउ । उनले कालिमाटीमा मात्र नभई देशभरका बजारमा गोलभेँडा खपत हुन नसकेको जानाकारी दिए ।

उनका अनुसार हाल २० रोपनी जमिनमा गोलभेँडा खेती लगाएका ४०० बढी टनेल छन् । अफ सिजनमा यसको उत्पादन कमी आउने भए पनि हाल सिजन भएकै कारण सबैतिरको गोलभेँडा बजार आउँदा खपत हुन नसकेको हो ।

‘गोलभेँडा खपत हुनेभन्दा बढी उत्पादन भएको छ, टनेलदेखि खेतसम्म सबै गोलभेँडा बजारमा आएकोले विक्री नभएपछि फ्याक्नु परेको हो,’ घिमिरेले चाणक्य पोष्टसँग भने ‘धेरै दिन स्टोरमा राखे कुहिन्छ, यो १५ दिनको लागि सबैतिर यस्तै हो त्यसपछि फेरि महंगिन्छ ।’

उनले निर्यातको व्यवस्था भए निर्यात समेत गर्न सक्ने भए पनि त्यस्तो निती नहुँदा फ्याक्नु परेको बताए । उनले ४० प्रतिशतले गोलभेँडाको उत्पादन बढेको बताए । यस्तै, सिजनमै छ्याप्छ्प्ती भारतीय गोलभेँडा भारतबाट आयात भएपछि किसान मारमा परेका हुन्।

यस्तै, राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेतले हरेक वर्ष गोलभेँडा, केरा, दूध, तरकारी लगायतकामा वस्तुमा उत्पादन बढी भएर फ्याक्नु पर्ने अवस्था आए पनि सरकारले त्यसको लागि सही विकल्प ल्याउन नसकेको बताए ।

उनले सरकारले स्थानीय तहबाटै किसानको वस्तु किनेर बजारीकरणको जिम्मा लिनुपर्ने बताए । यसो गर्दा बढी भएको गोलभेँडाको पैसा समेत किसानले पाउने र घाटा बेहोर्नु नपर्ने उनले बताए ।

उनका अनुसार भारतका बोडरबाट जथाभावी रूपमा गोलभेँडा तथा तरकारी फलफूल आयात हुने तर नेपालमा भएको तरकारी तथा फलफूल बढी हुँदा फाल्नु पर्ने अवस्था रहेको छ । उक्त तरकारी तथा फलफूल निर्यात गर्न सक्ने वातावरण सरकारले बनाउनु पर्ने छ ।

‘भारतबाट सबै गोलभेँडा आउछ, फलफूलदेखि तरकारी सबै उतैबाट आउँछ नोपालको उत्पादन फ्याक्नुपर्ने अवस्था आउँछ,’ बस्नेतले चाणक्य पोष्टसँग भने ‘केही समयका लागि मात्र भए पनि सिजनमा भारतको गोलभेँडा बन्द गराउन सक्यो भने किसानले बजार पाउने छन्, यसरी सडकमा फ्याक्नु पर्ने अवस्था आउँदैन ।’

किसानले उत्पादन गरेका करोडौँको तरकारी तथा फलफूल हरेक वर्ष सिजनको बेला खेर जाने गरेको उनले बताए । चालु आर्थिक वर्षमा मात्र ७ अर्ब ५४ करोड ७ लाख ६६ करोड रुपैयाँ बराबरको ३१ करोड ३७ लाख केजी गोलभेँडा आयात भएको थियो ।

 

मध्यपहाडी राजमार्ग : आयोजना खप्टिएको खण्डमा कुन अघि बढाउने भन्ने अन्योल Read Previous

मध्यपहाडी राजमार्ग : आयोजना खप्टिएको खण्डमा कुन अघि बढाउने भन्ने अन्योल

८०० प्रतिशत हकप्रद सेयर जारी गर्दै साङ्गे विद्युत् कम्पनी Read Next

८०० प्रतिशत हकप्रद सेयर जारी गर्दै साङ्गे विद्युत् कम्पनी