काठमाडौं । सरकारले यही असार मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको मध्यपहाडी (पुष्पलाल) राजमार्गअन्तर्गत कतिपय खण्डमा निर्माणका लागि प्रक्रिया सुरु हुन सकेको छैन ।
आयोजना खाप्टिएका खण्डमा कुन आयोजनालाई कसरी अघि बढाउने भन्ने निर्णय नहुँदा काम रोकिएका छन् । अधिकांश स्थानमा ग्राभेलको ठेक्का सम्पन्न नभएका खण्डमा कालोपत्रको प्रक्रिया अघि बढ्न नसकेको हो ।
बूढीगण्डकी जलाशययुक्त आयोजनाका कारण गोरखा र धादिङका केही खण्डमा र रामेछापमा ग्राभेल ठेक्का नसकिएकाले निर्माण अघि बढाउन नसकिएको आयोजनाले जनाएको छ ।
पहिले रेखाङ्कन गरिएअनुसार काम गर्दा पछि सडक डुब्ने भएकाले कसरी निर्माण अगाडि बढाउने भन्ने निर्णय गरेर मात्रै काम अघि बढाइने मध्यपहाडी (पुष्पलाल राजमार्ग आयोजना निर्देशनालय) का सूचना अधिकारी सुरजहरि अधिकारीले बताए ।
उनका अनुसार उक्त विषयमा सरोकारवालासँग पटक-पटक छलफल भइरहे पनि निर्णय भने हुनसकेको छैन । बीचको खण्डलाई छाडेर दुवैतर्फबाट सडक निर्माण भइसकेको सूचना अधिकारी अधिकारीले बताए।
उनले भने, ‘आयोजना खप्टिएका ठाउँमा मात्रै निर्माण गर्न बाँकी छ । एलाइनमेन्ट परिवर्तन गर्ने कुरा भएको छैन ।’ रामेछापको विभिन्न खण्डमा पहिले ग्राभेलको ठेक्का लगाइएको थियो । ग्राभेलको ठेक्का नसकिएकाले नयाँ ठेक्का लगाउन नमिलेको उनले बताए ।
बूढीगण्डकी जलाशययुक्त आयोजना अन्तर्गत ३३ किमी काम रोकिएको छ । अहिलेको रेखाङ्कनबाट सडक निर्माण गर्दा पछि डुब्ने ठाउँ भएकाले निर्माण अगाडि बढाउन नसकिएको सूचना अधिकारी अधिकारीले बताए । उनका अनुसार ठेक्कामा जान दुईरतीन पुल मात्रै बाँकी छन् । बाँकी रहेका पुलको पनि विभागमा डिजाइन स्वीकृतिको क्रममा छन् ।
निर्माणाधीन २३ पुलको काम अगाडि बढाउनुपर्ने सूचना अधिकारी अधिकारीको भनाइ थियो । आगामी आवको बजेटमा मध्यपहाडी राजमार्गअन्र्तगत पाँचथर, नुवाकोट, पर्वत, बागलुङ, जाजरकोटलगायत १२ खण्डको निर्माण तथा स्तरोन्नतिका लागि रू ३ अर्ब ४९ करोड छुट्ट्याउने निर्णय भएको उनले जानकारी दिए ।
विभिन्न खण्डमा स्तरोन्नतिको काम भइरहेको र आगामी आवमा त्यसले निरन्तरता पाउने सूचना अधिकारी अधिकारीले बताए। ‘हाल चार सय किमीभन्दा बढी ठेक्का निर्माणाधीन अवस्थामा छन्,’ उनले भने, ‘अहिले सञ्चालनमा रहेका सबै ठेक्का कालोपत्रको क्रममा छन् ।’
अधिकारीका अनुसार उक्त आयोजनाअन्तर्गत राजमार्गमा जग्गा प्राप्तिको समस्या आइरहेको छ । जग्गाका लागि रकम दिनसक्ने अवस्था नभएकाले ठाउँठाउँमा जग्गा प्राप्तिमा समस्या भइरहेको उनले बताए । ‘राष्ट्रिय राजमार्गको अधिकार क्षेत्र २५/२५ मिटर भए पनि अहिलेका लागि १५ मिटर भनिएको छ । कानुनी रुपमा २५ भए पनि व्यवहारिक रुपमा १५ मिटरमा काम भइरहेको छ,’ उनले भने, ‘त्यही मापदण्डानुसार जग्गा पाउन समस्या भइरहेको छ ।’
सडकको चौडाइका लागि जग्गा १० मिटरदेखि १५ मिटरसम्म जग्गा लिएको आयोजनाले जनाएको छ । अधिकारीले भने, ‘अहिले पनि कतिपय ठाउँमा विवाद छ । गोरखामा विवाद छ ।’ आव २०७७/७८ को सरकारको नीति तथा कार्यक्रमका अनुसार आव २०७९र८० सम्म निर्माण सम्पन्न गर्नुपर्ने समय तोकिएको थियो । उक्त अवधिअनुसार असारमसान्तमा समय सकिन्छ । हाल आयोजना सम्पन्न गर्नका लागि आव २०८४/८५ प्रस्ताव गरिएको छ ।
केही वर्षयता वर्सेनि झण्डै १५०-२००० किमी सडक कालोपत्र भइरहेको सूचना अधिकारी अधिकारीले जानकारी दिए । उनका अनुसार आयोजनाको सुरुको विन्दु पाँचथरको चियोभञ्ज्याङ र अन्तिम विन्दु बैतडीको झुलाघाट हो । उक्त राजमार्ग निर्माण आव २०६४/६५ देखि सुरु गरिएको थियो ।
सरकारले आव २०६९/७० मा राष्ट्रिय गौरवको आयोजना घोषणा गरी प्राथकिताका साथ अघि बढाएको थियो । राजमार्गको कूल लम्बाइमध्ये एक हजार किमी आयोजना स्थापना हुनुअघि नै निर्माण भएर सञ्चालन भइसकेको थियो । उक्त खण्डमा पुरानो सडक छन् भने अन्यन्त्र नयाँ ट्र्याक खुलेका छन् ।
आयोजनाले हालसम्म १ हजार ३४६ किमी कालोपत्र भएको जनाएको छ भने ९९ पुल निर्माण सम्पन्न भएका छन् । मध्यपहाडका २६ जिल्लाका २१५ बस्ती जोड्दै निर्माण हुने यस राजमार्ग सम्पन्न हुँदा मध्यपहाडमा बसोबास गर्ने नागरिकलाई सहज हुने अपेक्षा गरिएको छ ।