काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको प्रिमियम मूल्यमा प्राथमिक साधरण सेयर (आइपीओ)भर्ने *म्याद थप गरिएको छ ।
कम्पनीले जेठ ३२ गतेदेखि प्रतिकित्ता ४३५ रुपैयाँ (अंकित मूल्य १०० मा ३३५ रुपैयाँ प्रिमियम थपेर) दरले बिक्रीमा ल्याएको ६९ लाख ११ हजार ६७० कित्ता सेयरमा आवेदन दिने समय असार १४ गतेसम्म थप गरेको हो ।
यद्यपि, अहिले नै मागभन्दा बढी आवेदन परिसकेकाले थपिएको समय अगावै आवेदन बन्द गरिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरु र मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । आइपीओ निष्काशनको लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी ट्रिपल बी माइनस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।
सीडीएस एण्ड क्लियरिङका अनुसार आइतबार बेलुका ५ बजेसम्म कम्पनीको आइपीओमा ४ लाख ४५ हजार ८९० जनाले आवेदन दिएका छन् ।*सच्याइएको ।