काठमाडौं । बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह सुस्त देखिएको छ । अर्थतन्त्रमा आएको संकुचन, महँगो ब्याजदर लगायत कारणले माग नहुँदा कर्जा लगानी पछिल्लो एक दशक यताकै सुस्त भएको हो ।
अहिले बैंकिङ प्रणालीमा साढे २ खर्ब बढी लगानी योग्य रकम भए पनि माग नहुँदा बैंकमै थुप्रिएर बसेको छ । चालु आर्थिक वर्षको एक महिना बाँकी रहँदासम्म बैंक तथा वित्तीय संस्थाहरुले लक्ष्यको एक चौथाई पनि कर्जा लगानी गर्न सकेका छैनन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ११ महिना (साउन-जेठ)सम्म बैंक तथा वित्तीय संस्थाहरूले १ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो लक्ष्यको करिब २३.५९ प्रतिशत मात्र हो । लक्ष्य अनुसार बैंक तथा वित्तीय संस्थाहरूले यस वर्ष साढे ५ खर्ब बढी कर्जा लगानी गर्नुपर्थ्यो ।
आर्थिक गतिविधिमा देखिएको सुस्तताको कारण बजारमा लगानी ठप्पप्रायः छ । सोही कारण पूँजीको माग नहुँदा बैंकहरूले ऋण लगानी गर्न नसकेका हुन । आर्थिक वर्षको सुरूमा तरलता अभावका कारण लगानी गर्न नसकेका बैंक तथा वित्तीय संस्था अहिले माग संकुचनले व्यवसाय विस्तार गर्न सकिरहेका छैनन् ।
निक्षेप वृद्धि अनुसार कर्जाको माग नहुँदा एकातिर उत्पादनमूलक क्षेत्रमा लगानी बढ्न सकेको छैन भने अर्कोतिर वित्तीय क्षेत्रको व्यवसायमा नकारात्मक असर परेको छ ।
नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना आर्थिक गतिविधि संकुचनका कारण अधिकांश बैंकको वितरणयोग्य नाफा ऋणात्मक हुने बताउँछन् ।
‘विशेषगरी यो वर्ष आर्थिक गतिविधिमा आएको संकुचनले धेरै बैंकहरूको वितरणयोग्य नाफा ऋणात्मक हुने देखिएको छ,’ उनले भने, ‘गत चैतकै तथ्यांक हेर्दा पनि करिब दर्जन बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । यो अझै बढ्दै जाने देखिन्छ ।’ अब आर्थिक वर्षको अन्तिम महिना असार सुरू भएकाले कर्जा लगानीभन्दा रिकभरीमै बैंकको ध्यान जाने उनले बताए ।
यस वर्ष अर्थतन्त्रमा देखिएको समस्याले बैंकले कर्जा प्रवाहमात्र नभएर सहज रुपमा रिकर्भर पनि गर्न सकेका छैनन् । समयमै ऋणीले रकम चुक्ता गर्न नसक्दा बैंकको खराब कर्जा दोब्बरले बढेको छ भने नाफामा पनि गिरावट आएको छ । गत वर्ष ६ महिनामै लक्ष्यको ६० प्रतिशत कर्जा लगानी गरेका बैंक तथा वित्तीय संस्थाहरू यस वर्ष भने हात बाँधेर बसिरहेका छन् ।
लक्ष्यको आधा पनि विस्तार गर्न सकस
बैंकहरूको कर्जा लगानीको यही गतिले यो वर्ष लक्ष्यको आधा पनि पूरा नहुने देखिएको छ । चालु वर्षमा मौद्रिक नीतिले निजी क्षेत्र तर्फ १२.६ प्रतिशतले कर्जा प्रवाह गर्ने लक्ष्य राखेको थियो । तर, अहिलेसम्म संस्थाहरूले त्यसको एकतिहाई पनि लगानी गर्न सकेको देखिँदैन ।
११ महिनामा डेढ खर्ब लगानी गरेका संस्थाले लक्ष्य पूरा गर्न साढे ५ खर्ब लगानी बढाउनुपर्ने हुन्छ भने आधा लक्ष्य भेटाउन अझै डेढ खर्ब बढी कर्जा लगानी गर्नुपर्ने हुन्छ ।
नियामकले लिएको मौद्रिक लक्ष्य अनुसार लगानी गर्न बैंकसँग करिब ६ खर्ब रुपैयाँ स्रोत चाहिन्छ । वर्षको सुरूमा प्रणालीमा स्रोत अभावका कारण उच्च ब्याजदरले माग वृद्धि भएन भने अहिले एकल अंकमा हुँदा पनि ऋण विस्तार गर्न सकस छ ।
बैंकर ढुंगाना आर्थिक गतिविधिमा देखिएको समस्याले सोचे अनुसार राष्ट्र बैंकले तोकेका क्षेत्रमै पनि कर्जा लगानी गर्न नसकिएको बताउँछन् ।
‘बजारमा देखिएको समस्याको कारण हामीले सोचे जति अहिले पनि कर्जा प्रवाह गर्न सकेका छैनौं,’ बिहीबार मौद्रिक नीति सम्बन्धी छलफल कार्यक्रममा उनले भने, ‘केही बैंकहरूले साना तथा मझौला उद्योगको क्षेत्रमा सीमा तोकेर कर्जा लगानी गरिरहेका छन् । त्यतातिर कर्जा लगानी बढाउन सकिने अवस्था छ ।’
मौद्रिक नीतिको अंकुश
निजी क्षेत्रको कर्जा विस्तार कुल जीडीपी बराबर पुगिसकेको छ । लगानी बढे पनि उत्पादन र आर्थिक वृद्धि भने त्यस अनुसार बढेको छैन । सोही कारण अब कर्जा विस्तारको लक्ष्यलाई मौद्रिक नीतिले अझै अंकुश लगाउने भएको छ ।
राष्ट्र बैंकले गत वर्ष १८ प्रतिशत कर्जा विस्तारको लक्ष्य लिएकोमा चालु वर्ष घटाएर साढे १२ प्रतिशतमा सीमित राखेको थियो । आगामी वर्ष पनि विस्तार भन्दा संकुचन नीति लिन अर्थतन्त्रका जानकारहरूको सुझाव छ ।
घरजग्गा, व्यापार र सेयर बजार जस्ता अनुत्पादक क्षेत्रमा उच्च तरलता प्रवाह हुने तर त्यसको बद्लामा प्रणालीमै समस्या ल्याउने देखेपछि राष्ट्र बैंकले यी क्षेत्रमा समेत कर्जा लगानी गर्न कडाइ गर्दै आएको छ ।
कोभिडकालमा लिएको विस्तारकारी नीतिबाट झस्किएको नियामकले अब भने सोही गल्ती दोहोर्याउन नहुने जानकारहरू बताउँछन् ।