काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. तिलक रावलले मौद्रिक नीतिका सीमितता रहेको बताएका छन् ।
बिहीबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिको छलफलमा बोल्दै रावलले संकटपूर्ण अवस्थाको अर्थतन्त्र राष्ट्र बैंकले मात्र थेग्न नसक्ने बताएका हुन ।
‘कृषि उत्पादनमा आएको मन्दीबाट अर्थतन्त्र झन् समस्याको बाटोतिर गइरहेको छ । धस्सिन लागेको अर्थतन्त्रलाई राष्ट्र बैंकले मात्र थेग्न सक्दैन,’ उनले भने ।
राष्ट्र बैंकले बाध्यताबस वित्त नीतिकोविरूद्व पनि मौद्रिक उपकरण कार्यान्वयन गर्नुपर्ने अवस्था आउने उनले बताए ।
‘कहिलेकाहीँ विश्व अर्थतन्त्रका गतिविधि नियाल्दा सरकारले एक प्रकारको नीति लिएको हुन्छ भने बाध्यता बस् राष्ट्र बैंक त्यसको उल्टोतिर पिन लागेको हुन्छ,’ उनले भने, ‘कोभिडको अवधिमा सरकारले दिएका सबै छुट र सहुलियतलाई राष्ट्र बैंकले आँखा चिम्लेर अनुमोदन गरेको छैन ।’
आर्थिक स्थायित्व र मूल्यवृद्वि हेरेर सन्तुलित मौद्रिक नीति कार्यान्वयन गर्नुपर्ने उनले बताए । ‘हाम्रो परिपेक्षमा लचिलो र कसिलो नभएर सन्तुलन मौद्रिक नीति लिनुपर्छ । आन्तरिक र अन्तरास्ट्रिय परिस्थितिको अध्ययन गरेर मौद्रिक उपकरणहरू प्रयोग गर्दै जानुपर्छ,’ उनले भने ।
बीओपी र मूल्यवृद्धि उच्च रहँदा खुकुलो मौद्रिक नीति लिन नसकिने उनको भनाइ छ । सरकारले उत्पादन बढाउनतिर लागेर आयातित वस्तुलाई निरूत्साहित गर्नुपर्ने भए पनि करबाटै राजस्व असुल्ने बाटोमा गएको उनले बताए ।