ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत अवरोधहरू तत्काल हटाउनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको लगानीले ऊर्जा क्षेत्र आकर्षक बनाएको बताउँदै ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत अवरोधहरु तत्काल हटाउनुपर्ने बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) को २१औँ वार्षिक साधारणसभालाई बिहीबार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष ढकालले प्रसारण लाइन निर्माण र विद्युत् बिक्रीमा भएका अवरोधहरु हटाउनुपर्ने बताएका हु्न ।

उनले अहिले कुल जडित क्षमताको दुई तिहाइ भन्दा बढी उत्पादन निजी क्षेत्रले गरिरहेको र निजी क्षेत्रको उल्लेखनीय प्रवेशले ऊर्जा क्षेत्रलाई आकर्षक बनाएको बताए । तर, कतिपय अवस्थामा प्रसारण लाइन तथा अन्य समस्याका कारण निजी क्षेत्रद्वारा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकिएको र नीतिगत अवरोधहरुका कारण उत्पादकले उत्पादित विद्युत् समेत विक्रीगर्न नसकेको बताउँदै निजी क्षेत्रको उत्साहलाई कायम राख्न नीतिगत अवरोधहरु तत्काल हटाउनुपर्ने उनको भनाइ छ ।

‘जलविद्युत् विकासको कुरा दशकौदेखि गरिआए पनि पछिल्लो दशकमा भएको प्रगति उल्लेखनीय छ । राज्यबाट थोरै मात्र सहयोग भएपनि निजी क्षेत्र फस्टाउन सक्छ भन्ने उदाहरण जलविद्युत्, सिमेन्ट लगायत क्षेत्रमा देखिएको छ,’ उनले भने ।

उनले अबको केही वर्षमा ऊर्जा उत्पादनले तीव्रता पाउने विचारसमेत व्यक्त गरे । ‘अहिले नै करिब ७ हजार मेगावाट क्षमताका आयोजनाहरु निर्माणको चरणमा छ । विद्युत् खरिद सम्झौता खुकुलो हुँदा थप लगानीकर्ता आउने सम्भावना बढेको छ,’ उनले भने ।

ऊर्जा निर्यात विदेशी मुद्रा आर्जनको माध्यम बन्न सकेको विषय अत्यन्त सुखद् रहेको बताउँदै भारतले १० वर्षमा १० हजार मेगावाट बिजुली लिने प्रतिबद्धता जनाएको जानकारी गराए ।

हालैको विम्सटेक मिटिङ्गका क्रममा पनि नेपालको विद्युत्को बारेमा कुरा उठेको बताउँदै उनले नेपाललाई दक्षिण एशियामात्र नभई दक्षिण पूर्वी एशियाको समेत ब्याट्रीको रुपमा विकास गर्ने सम्भावना रहेको बताए ।

निर्माण थालिएको ७ वर्षपछि सम्पन्न हुँदै नख्खु-भैँसेपाटी सडक Read Previous

निर्माण थालिएको ७ वर्षपछि सम्पन्न हुँदै नख्खु-भैँसेपाटी सडक

नेप्सेमा लगातार आठौं दिन वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Next

नेप्सेमा लगातार आठौं दिन वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी