काठमाडौं । सरकार आफैंले किसानबाट किन्छु भनेको धान समेत नकिनेको पाइएको छ । सरकारले चालु वर्षमा लक्ष्यको ६८ प्रतिशत मात्र धान खरिद गरेको हो ।
सरकारले यस वर्ष किसानबाट १ लाख मेट्रिकटन धान किन्ने लक्ष्य राखेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुसार चालु आर्थिक वर्षमा हालसम्म ६८ हजार मेट्रिकटन धान मात्र किनेको छ ।
कृषि मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलका अनुसार खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी, प्रधानमन्त्री कृषि आधुनिकीकरण र सहकारी मार्फत हालसम्म ६८ हजार टन धान खरिद गरेको हो ।
खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले २० हजार टन धान खरिद गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तर्गत १८ हजार टन धान खरिद भएको छ । विभिन्न सहकारी मार्फत ३० हजार टन धान खरिद भएको छ । यसरी ६८ हजार टन हाराहारी धान खरिद भएको कृषि मन्त्रालयका प्रवक्ता सञ्जेलले बताए ।
‘खाद्य कम्पनी, प्रधानमन्त्री कृषि र सहकारी गरी झण्डै ६८ हजार टन धान खरिद भइसकेको छ, थप धान खरिदको काम भइरहेको छ,’ उनले चाणक्य पोष्टसँग भने । यस्तै, खाद्य कम्पनीले थप १२ हजार टन धान खरिदको तयारी गरिरहेको उनले बताए ।
बजेट अभावका कारण भन्दै सरकारले बेलैमै किसानको धान खरिद प्रक्रिया अघि नबढाउँदा लक्ष्य अनुसार धान खरिद नभएको हो । सरकारले समर्थन मूल्य तोकेर पनि आफूहरूको धान समयमै खरिद नगर्दा बाध्य भएर निजी व्यापारीलाई बेच्नुपरेको किसानहरूको गुनासो ।
सरकारले चालु वर्षमा मोटा धानको समर्थन मूल्य प्रतिक्वीन्टल २९६७ रुपैयाँ र मध्यम धान प्रतिक्वीन्टल ३१२८ रुपैयाँ तोकेको थियो । धान खरिदका लागि चालु वर्षमा ३३ करोड रुपैयाँ बजेट छुट्याइएको थियो ।
धान उत्पादन ८ प्रतिशत बढ्यो
यो वर्ष धान उत्पादन अघिल्लो वर्षको तुलनामा ८ प्रतिशतले वृद्धि भएको मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षमा चैते धान र वर्षे धान गरी कुल उत्पादन गत वर्षको तुलनामा ७० हजार ८३१ मेट्रिकटनले वृद्धि भई ५६ लाख २१ हजार ७१० मेट्रिकटन पुगेको मन्त्रालयले जनाएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो आवमा धान उत्पादन क्षेत्रफल भने घटेको देखाएको छ । चालु आवमा १४ लाख ७३ हजार ४७४ हेक्टर क्षेत्रफलमा धान उत्पादन भएको हो । गत आर्थिक वर्ष २०७८÷७९ मा १४ लाख ७७ हजार ३७८ हेक्टरमा धान रोपाई भएको थियो । गत आवमा ५१ लाख ३० हजार ६ सय २५ मेट्रिक टन धान उत्पादन भएको थियो ।
दैनिक भान्सामा प्रयोग हुने चामलको आयात वर्षेनी बढ्दो छ । चालु आर्थिक वर्षको १० महिनामा २९ अर्ब १९ करोड १८ लाख रुपैयाँ बराबरको चामल तथा धान आयात भएको छ । सो मूल्यमा ६३ करोड ६२ लाख केजी चामल तथा धान आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा ४७ अर्ब ५७ करोड ३६ लाख रुपैयाँ बराबरको १ अर्ब १३ करोड केजी धान तथा चामल आयात भएको थियो ।
धान नेपालकै मुख्य खेतीमा पर्छ । विशेष चैते धान र वर्षे धान प्रचलनमा रहेको छ । चैते धान अन्तर्गत ६ जातका बीउहरू रहेका छन् भने वर्षे धानतर्फ ९८ वटा जातका धानका बीउहरू रहेको जनाइएको छ ।
सरकारले हरेक वर्ष धानको उत्पादन बढ्दै गएको जनाए पनि धान लगाउने क्षेत्रफल र उत्पादन घट्दै गइरहेको छ । कृषि मन्त्रालयका अनुसार नेपालमा कुल १४ लाख ७० हजार हेक्टर जग्गा धानखेतीका लागि योग्य छ । देशभरको खेतीयोग्य जग्गाको करिब ३८ प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा पुगेको सरकारी आँकडा छ । आकाशे पानीकै भरमा धान बाली लगाउनुपर्ने बाध्यताको अन्त्य नहुँदासम्म धानमा आत्मनिर्भर हुने सरकारको लक्ष्य पूरा हुन नसक्ने कृषि विज्ञ बताउँछन् ।
नेपाललाई वार्षिक ३९ लाख ९९ हजार ६२२ मेट्रिक टन चामल आवश्यक पर्छ । सरकारले १५ जिल्लामा धान उत्पादन बृृहत् कार्यक्रम सञ्चालन गर्दै आएको छ भने झापा जिल्लालाई धानको ‘सुपर जोन’ घोषणा गरेको छ ।
धानको उत्पादन बढाउन कृषि बीमालाई समेत प्रोत्साहन गर्दै लैजाने मन्त्रालयको योजना रहेको छ । तर, यसो भएता पनि नेपालमा वर्षेनी धान तथा चमल आयात बढ्दो क्रममा रहेको छ ।