व्यापार घाटा १२ खर्ब नाघ्यो, निर्यात २४.५ प्रतिशत घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा कूल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले कमी आई रु १२ खर्ब ४अर्ब ४२ करोड कायम भएको छ ।नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार गत आवको सोही अवधिमा यस्तो घाटा २४.९  प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा निर्यात-आयात अनुपात ९.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.८ प्रतिशत थियो । चालु आवको वैशाखसम्ममा कूल वस्तु आयात १६.८ प्रतिशतले कमी आई रु १३ खर्ब ३५ अर्ब ३२ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २८ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १५.१  प्रतिशत, २१ प्रतिशत र १८.६ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, सुन, पेट्रोलियम पदार्थ, कागज लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, एम एस विलेट, औषधि, अन्य मेशिनरी तथा पार्टस्, दूरसञ्चारका उपकरण तथा पार्ट्स लगायतका वस्तुको आयात घटेको छ ।

समीक्षा अवधिमा कूल वस्तु निर्यात २४.५ प्रतिशतले कमी आई रु १३० अर्ब ९० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५९.८ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३३.६ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः १००.६ प्रतिशत र ८.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिङ्क सिट, पार्टिकल बोर्ड, अलैँची, ऊनी गलैँचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।

निर्याततर्फ भैरहवा, सुक्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ ।

आयाततर्फ रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु १ खर्ब १९ अर्ब ६० करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु १ खर्ब ८३ अर्ब ९४ करोड बराबरको थियो ।

वृहत् आर्थिक वर्गीकरणअनुसार समीक्षा अवधिमा भएको कूल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५४.९ प्रतिशत र ४४.५ प्रतिशत रहेको छ भने पूँजीगत वस्तुको अनुपात नगण्य अर्थात् ०.६ प्रतिशत छ । गत वर्षको सोही अवधिमा भएको कूल निर्यातमा मध्यवर्ती, पूँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४७.१ प्रतिशत, ०.०२ प्रतिशत र ५२.९ प्रतिशत थियो ।

समीक्षा अवधिमा भएको कूल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३.२ प्रतिशत, पूँजीगत वस्तुको ८.४ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३८.४ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५२.८ प्रतिशत, १०.४ प्रतिशत र ३६.८ प्रतिशत थिए ।

बलियो बन्दै अर्थतन्त्रको बाह्य क्षेत्र, यस्ता छन् मुख्य सूचक Read Previous

बलियो बन्दै अर्थतन्त्रको बाह्य क्षेत्र, यस्ता छन् मुख्य सूचक

काठमाडौंमा ‘एसियन इन्स्योरेन्स मिट’ सुरू Read Next

काठमाडौंमा ‘एसियन इन्स्योरेन्स मिट’ सुरू