बलियो बन्दै अर्थतन्त्रको बाह्य क्षेत्र, यस्ता छन् मुख्य सूचक

काठमाडौं । समग्र अर्थतन्त्रमा मन्दी आए पनि अर्थतन्त्रको बाह्य क्षेत्रका सूचकहरूका भने लगातार सुधार आइरहेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख)को अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।

सरकारले गत वर्ष गरेको नीतिगत कडाइको प्रभाव देखिँदा यस वर्षको असोज यता लगातार अर्थतन्त्रका बाह्य सूचकमा सुधार आइरहेको छ । जसले अर्थतन्त्रमा बाह्य दबाब कम हुँदै गएको हो ।

राष्ट्र बैंकका अनुसार असोज यता विदेशी मुद्रा संचिति, रेमिट्यान्स आप्रवाह, शोधान्तर स्थिति, चालु खाता, व्यापार घाटा लगायतमा लगातार सुधार आइरहेको छ ।

गत वर्ष डलर संचित घट्दै जाँदा आम मानिसमा नेपाल पनि श्रीलंका जस्तै बन्ने हल्ला समेत फैलिएको थियो । त्यसयता सरकार र राष्ट्र बैंकको आयात कडाइले अहिले विदेशी मुद्रा संचिति २१ महिना यताकै धेरै अवस्थामा पुगेको छ ।

यद्यपि, अर्थतन्त्रका अधिकांश सूचकमा सुधार देखिए पनि मूल्य वृद्धि भने सरकारको नियन्त्रण बाहिरै रहेको छ । यसले आम नागरिको दैनिक जीविनयापन कष्टकर बनाइरहेको छ ।

ब्याजदर वृद्धि, मागमा आएको संकुचन, बढ्दो बेरोजगारी, निर्माण उद्योग सुस्त हुनु लगायत कारणले अर्थतन्त्रको आन्तरिक सूचकहरू भने दबाबमा छन् ।

रेमिट्यान्स आप्रवाह २३.७ प्रतिशत वृद्धि, महिनैपिच्छे १ खर्ब भित्रिँदै

पछिल्लो केही महिना यता रेमिट्यान्स आप्रवाह वृद्धिर उल्लेख्य रहेको छ । हरेक महिना १ खर्ब बढी रेमिट्यान्स भित्रिन थालेको छ ।

चालु वर्षको वैशाखमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भई १० खर्ब ५ अर्ब १८ करोड पुगेको हो । जबकि अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले मात्र बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.२ प्रतिशतले घटेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.४ प्रतिशतले वृद्धि भई ४ लाख २१ हजार २७९ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३.७ प्रतिशतले वृद्धि भई २ लाख ३८ हजार ९७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १८५.५ प्रतिशतले बढेको थियो।

चालु खाता र शोधनान्तर स्थितिमा सुधार

चालु खाता एवम् शोधनान्तर स्थितिको दबाब पनि कम हुँदै गएको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५४५ अर्ब ६ करोडले घाटामा रहेको थियो।

वैशाख मसान्तसम्ममा शोधनान्तर स्थिति रु. २१४ अर्ब ६७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा
शोधनान्तर स्थिति रु. २८८ अर्ब ५० करोडले घाटामा रहेको थियो।

डलर संचिति २१ महिना यताकै धेरै

अघिल्लो वर्ष अर्थतन्त्रको सबैभन्दा ठूलो समस्या बनेको डलर संचिति माथिको दबाब अहिले हटेको छ । चालु वर्षको १० महिनामा २१ महिना यताकै उच्च डलर संचिति पुगेको छ । वैशाख मसान्त डलर संचिति ११ अर्ब २० करोड डलर पुगेको छ ।

यस्तै, समग्र विदेशी मुद्रा संचितिमा पनि सुधार आएको छ । २०७९ असार मसान्तमा रु. १२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भई २०८० वैशाख मसान्तमा रु. १४७० अर्ब ३३ करोड पुगेको छ ।

व्यापार घाटा १५.९ प्रतिशतले घट्यो

चालु आर्थिक वर्षको १० महिनामा कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले कमी आई रु १२ खर्ब ४ अर्ब ४२ करोड कायम भएको छ । गत आवको सोही अवधिमा यस्तो घाटा २४.९  प्रतिशतले बढेको थियो ।

चालु आवको वैशाखसम्ममा वस्तु आयात १६.८ प्रतिशतले कमी आई रु १३ खर्ब ३५ अर्ब ३२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २८ प्रतिशतले बढेको थियो ।

त्यस्तै, वस्तु निर्यात २४.५ प्रतिशतले कमी आई रु.१३० अर्ब ९० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५९.८ प्रतिशतले वृद्धि भएको थियो।

मूल्य वृद्धि भने नियन्त्रण बाहिरै

चालु आर्थिक वर्षमा ७ प्रतिशत भित्र राख्ने मूल्यवृद्धिको लक्ष्य लिए पनि अझै सीमा भन्दा बाहिर छ । माग संकूचन र बाह्य क्षेत्रको स्थायित्व कायम गर्न राष्ट्र बैंकले लिएको नीतिका कारण मूल्यवृद्धि उच्च विन्दुमा पुगेको थियो ।

यद्यपी, अघिल्लो महिनाको तुलनामा ओरालो लाग्न थालेको छ । २०८० वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८७ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.५४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८९ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २६.६१ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको १४.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.६९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.४१ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको छ ।

 

डलर संचिति २१ महिना यताकै धेरै, कति महिनाको आयात धान्छ ? Read Previous

डलर संचिति २१ महिना यताकै धेरै, कति महिनाको आयात धान्छ ?

व्यापार घाटा १२ खर्ब नाघ्यो, निर्यात २४.५ प्रतिशत घट्यो Read Next

व्यापार घाटा १२ खर्ब नाघ्यो, निर्यात २४.५ प्रतिशत घट्यो