१०६१ मेगावाटको माथिल्लो अरूणमा लगानी जुटाउन विदेशी दातृ निकायसँग छलफल

काठमाडौं । मुलुकको रुपान्तरणकारी योजना माथिल्लो अरूण जलविद्युत परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयमा विभिन्न दातृ निकायका प्रतिनिधिसँग छलफल भएको छ ।

१ हजार ६१ मेगावाट क्षमताको अर्धजलाशययुक्त यो परियोजनामा लगानी गर्न अर्थ मन्त्रालयले विश्व बैंक, एसियाली विकास बैंक, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), जर्मनी सरकार, ओपेक फण्ड, युरोपियन युनियन, युरोपियन लगानी बैंकलगायत दातृ निकायका प्रतिनिधिसँग छलफल गरेको हो ।

छलफलमा विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर, पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष वाङ्ग्जी चेनको पनि सहभागिता रहेको थियो । छलफलमा अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्व बैंकले माथिल्लो अरूणमा लगानी गर्न खोज्नु सकारात्मक भएको बताए।

‘हामीले अरूण तेस्रोमा नै विश्व बैंकको लगानी चाहेका थियौँ । विश्व बैंक पनि लगानी गर्न तयार थियो, तर विविध कारणले अरूण तेश्रोमा लगानी हुन सकेन,’ मन्त्री महतले भने, ‘अहिले माथिल्लो अरूणमा लगानीको विषयमा सकारात्मक छलफल हुँदा निकै खुसी लागेको छ ।’

उनले जलाशययुक्त दूधकोशी जलविद्युत् परियोजनामा एसिया विकास बैंकले चासो राखेको भन्दै लगानीको प्रक्रिया छिटो अगाडि बढाउन आग्रह गरे ।

‘अहिले पनि नेपालले सुख्खायाममा भारतबाट बिजुली आयात गर्नु परेको छ,’ डा. महतले भने, ‘त्यसैले हामीलाई धेरै जलाशययुक्त योजना आवश्यक छ । प्रधानमन्त्रीको भारत भ्रमणले पनि नेपालमा उत्पादित १० हजार मेगावाट बजार सुनिश्चित गरेको छ । जलविद्युत् उत्पादन र निर्यातलाई बढाएर व्यापार घाटा घटाउने योजनामा हामी छौँ ।’

छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले नेपालमा जलविद्युत् उत्पादन र यसको प्रभावकाबारेमा चर्चा गरेका थिए । छलफलमा विश्व बैंक, एसियायी विकास बैंक, जाइका फण्ड, साउदी फण्डका प्रतिनिधिले माथिल्लो अरूण परियोजनामा लगानी गर्न इच्छुक रहेको बताए ।

अपर जलविद्युत् आयोजनाले गरेको अध्ययनअनुसार परियोजनाको काम सम्पन्न गर्न १ अर्ब ८० करोड अमेरिकी डलर लागत लाग्ने अनुमान गरिएको छ । त्यसमध्ये ८५ करोड डलर आन्तरिक स्रोतबाट जुटाउने योजना रहेको छ । परियोजना निर्माणका लागि गर्नुपर्ने पूर्वतयारीका जग्गा अधिग्रहण, रूख कटानलगायत धेरैजसो काम सम्पन्न भइसकेका छन् । सन् २०२५ जुलाइबाट परियोजना निर्माणको काम सुरू गर्ने तयारी छ ।

असार १ देखि प्रिमियममा आइपीओ बिक्री गर्दै आइएमई लाइफ, प्रतिकित्ता मूल्य कति ? Read Previous

असार १ देखि प्रिमियममा आइपीओ बिक्री गर्दै आइएमई लाइफ, प्रतिकित्ता मूल्य कति ?

मध्यपहाडी लोकमार्गका १५ वर्ष :  १३०१ किमी कालोपत्र, सम्पन्न हुन अझै ३ वर्ष लाग्ने Read Next

मध्यपहाडी लोकमार्गका १५ वर्ष : १३०१ किमी कालोपत्र, सम्पन्न हुन अझै ३ वर्ष लाग्ने