काठमाडौं । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माणाधीन अवस्थामा रहेको पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजना सुरू भएको १५ वर्ष बितिसकेको छ ।
आर्थिक वर्ष २०६४/६५ मा सुरू भएको यो सडक निर्माण बजेट अभाव, ठेकेदारको लापरबाही, कामदार अभाव, रुख कटानमा ढिलाइ लगायत कारणले अझै सम्पन्न हुन नसकेको हो ।
पहाडी क्षेत्रका २६ जिल्ला जोड्ने १८७९ किलोमिटर लामो यस सडक १५ वर्षमा करिब तिनचौथाई मात्र पूरा भएको छ । हालसम्म आयोजनाको करिब ७५ प्रतिशत काम सम्पन्न भएको छ भने अझै २५ प्रतिशत काम बाँकी छ ।
हालसम्म आयोजनाको १ हजार ३०१ किलोमिटर सडक कालोपत्र भएको सडक विभागले जनाएको छ । १ हजार ८७९ किलोमिटर सडकमध्ये अझै ५४८ किलोमिटर सडक कालोपत्र हुन बाँकी रहेको आयोजनाले जनाएको छ ।
आयोजना प्रमुख हरिकुमार पोखरेलले आयोजना अन्तर्गत कुल १३७ पुल निर्माण गर्नुपर्नेमा हालसम्म ९७ पुल निर्माण सम्पन्न भएको बताए । उनले अझै ४० वटा पुल निर्माण गर्न बाँकी रहेको बताए ।
आयोजना प्रमुख हरिकुमार पोखरेलले आयोजनाको मध्याद थप भएको बताए । उनले थप १ वर्षका लागि म्याद थप भएको हुँदा चाँडै काम सक्ने गरी काम भइरहेको जानकारी दिए । उनले पुल निर्माणको लागि ठेक्का प्रकृया अघि बढिसकेको र केहीमा ठेक्का लगाएर निर्माण गर्ने काम सुरू भइसकेको बताए । उनले निर्माण सक्नलाई अझै ३ वर्ष हाराहारी समय लाग्ने बताए ।
‘हामी काम गरिरहेका छौँ, अब ४० वटा पुल र ५०० हाराहारी किलोमिटर सडक निर्माण गर्न बाँकी छ, त्यो पनि चाँडै सक्ने छौँ,’ पोखरेलले भने ।
मध्यपहाडी राजमार्गमा १ हजार ६१६ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको थियो । चालु आवमा हालसम्म यस आयोजना अन्तर्गत २८.३ किलोमिटर सडक कालोपत्र भएको हो ।
यस्तै, आगामी आर्थिक वर्षमा मध्यपहाडी राजमार्ग अन्तर्गत पाँचथर, रामेछाप, नुवाकोट, पर्वत, बाग्लुङ, जाजरकोट लगायतका विभिन्न १२ खण्डको निर्माण तथा स्तरोन्नति गर्न ३ अर्ब ९६ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

विश्व बैंकअन्तर्गतको इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसन (आइडीए) बाट ऋण लिएर बनाइँदै गरेको यस आयोजनाको लागत ३३ अर्ब रुपैयाँ अनुमान गरिएको थियो । हालसम्म आइपुग्दा यस आयोजनाको लागत बढेर ८४ अर्ब ३३ करोड रुपैयाँ नाघेको छ । यस आयोजनाका लागि हालसम्म ५५ अर्ब रुपैयाँ हाराहारीमा खर्च भइसकेको छ ।
पहाडी क्षेत्रको २६ जिल्ला जोड्ने १८७९ किलोमिटर लम्बाइको यो आयोजना १५ वर्ष वित्दा समेत निर्माण पूरा हुन सकेको छैन ।
पछिल्लो ५ वर्षमा कति भयो काम ?
आर्थिक वर्ष २०६४/६५ मा सुरू भएको यो आयोजना १० वर्षभित्र पूरा गर्ने भनिएको थियो । तर, आयोजना सुरू भएको १५ वर्ष बित्दा समेत यसले सार्थक्ता पाउन सकेको छैन ।
विगत ५ वर्षको संघीय सरकार निर्माणपछिको यसको प्रगति हेर्ने हो भने निकै गतिशील देखिन्छ । आर्थिक वर्ष २०७४/७५ सम्ममा यस आयोजनामा १ हजार ४३५ किलोमिटर ट्रयाक खोल्ने काम भइसकेको थियो भने ९५ किलोमिटर ग्रावेल भएको थियो । सो आवसम्ममा यस लोकमार्गमा ७२७ किलोमिटरमा कालोपत्र हुनुका साथै ५३ वटा पुलको निर्माण सम्पन्न भइसकेको थियो ।
सो आर्थिक वर्षमा यस लोकमार्गमा ९५ किलोमिटर ग्राबेल गर्नुका साथै २२ किलोमिटर कालोपत्र गरिएको थियो । सो वर्ष ८ वटा पुलको निर्माण सम्पन्न भएको थियो ।
यसरी गति लिन नसकेको पुष्पलाल लोकमार्गमा आर्थिक वर्ष २०७५/७६ मा १०१ किलोमिटर सडक ग्राबेल भएको थियो भने ३५ किलोमिटर सडक कालोपत्र भएको अर्थमन्त्रालयका तथ्यांकले देखाएको छ । सो वर्ष ६० किलोमिटर सडकको नयाँ ट्रयाक खुल्ला गरिएको थियो । यस वर्ष ५ वटा पुल निर्माण पूरा भएको थियो ।
आर्थिक वर्ष २०७६/७७ मा यस आयोजनाको १४० किलोमिटर सडक कालोपत्र भएको थियो भने १८६ किलोमिटर सडक ग्रावेल भएको थियो । सो वर्ष ८०२ किलोमिटर सडक कालोपत्रमा स्तरोन्नति भएको थियो । सो वर्ष १२ वटा पुल निर्माण सम्पन्न गरिएको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा यस आयोजनाको ९७० किलोमिटर सडक कालोपत्र भएको थियो । सो वर्ष १६ पुलको निर्माण सम्पन्न भएको थियो ।
आर्थिक वर्ष २०७८/७९ मा आइपुग्दा यस आयोजनामा यस आवमा मात्र कुल १४६ किलोमिटर सडक कालोपत्र भएको थियो । सो वर्ष ३ वटा पुल निर्माण सम्पन्न भएको थियो ।