काठमाडौं । सेयर बजारले कमब्याक गरेको छ । सोमबार १७ अंकले घटेको नेप्से आज दोहोरो अंकले लयमा फर्केको हो ।
सूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ करोडले बढेर १ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।
मंगलबार नेप्से परिसूचक २५.६६ अंकले बढेर १९२७.६५ विन्दुमा पुगेको छ । यसदिन २६९ कम्पनीको ५५ लाख ४१ हजार ८७८ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेको छ । होटल उपसमूहको परिसूचक सबैभन्दा धेरै ५.६७ प्रतिशतले बढेको छ ।
आज सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ । यसको साढे ९ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट ९ करोड र माथिल्लो तामाकोशी साढे ८ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले बढेको बजारमा न्यादी हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
त्यसैगरी, सनराइज फोकस्ड इक्वीटी फण्ड ९.२४, सोल्टी होटल ८.७५, प्रभु इन्स्योरेन्स ७.९९, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ७.८५, साञ्जेन र रसुवागढी हाइड्रोपावरको सेयर मूल्य ७ प्रतिशतले बढेको छ ।