फास्ट ट्रयाकको डिजाइन परिवर्तन हुने, थप ३ वटा सुरुङमार्ग बन्ने

सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक)को डिजाइन पुनरावलोकन गरिने भएको छ । फास्ट ट्रयाकमा थप ३ वटा सुरुङमार्ग बनाउन प्रस्ताव गरिएसँगै डिजाइनमा केही परिवर्तन हुने भएको हो ।

फास्ट ट्रयाक निर्माण गरिरहेको नेपाली सेनाले धेरै पहिरो जाने ३ ठाउँमा सडकको सट्टा सुरुङमार्ग बनाउन प्रस्ताव गरेको छ । सोसँगै ती ठाउँको डिजाइन परिवर्तन हुने भएको हो ।

नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले आयोजनामा थप ३ वटा सुरुङ बनाउनुपर्ने देखिएपछि डिजाइन पुनरालोकन गर्नुपर्ने भएको बताए । प्याकेज नं. १० अन्तर्गतको सडकको डिजाइन पुनरावलोकन गरिने उनले बताए ।

आयोजनाको डिजाइन पुनरावलोकनका लागि सरकारसँग छलफल भइरहेको उनले बताए । स्थान र निर्माण गर्ने विषय टुंगो लागेपछि मात्र थप सुरुङ निर्माणको प्रकृया अघि बढ्ने उनले बताए ।

‘फास्ट ट्रयाकमा थप सुरुङ बनाउनु पर्ने देखिएको छ । त्यसका लागि डिजनाइन पुनरालोकन गर्नुपर्ने हुन्छ, सबै होइन १० नम्बर प्याकेजमा मात्र डिजाइन पुनरालोकन गर्न लागिएको हो, त्यसका लागि छलफल भइरहेको छ,’ भण्डारीले चाणक्य पोष्टसँग भने ।

उनका अनुसार २.२ किलोमिटरको ३ वटा नयाँ सुरुङमार्ग थप हुने भएको हो । जसमा एउटा ३०० मिटर, ९०० मिटर र १ किलोमिटर गरेर २.२ किलोमिटरको बन्ने उनले बताए ।

सुरुङमार्ग मात्रै साढे ८ किलोमिटर हुने

हाल फास्ट ट्रयाकमा ३ वटा सुरुङमार्ग निर्माण भइरहेका छन् । प्रस्तावित ३ सुरुङ बनेमा सुरुङमार्गको संख्या ६ वटा पुग्नेछ । सुरुङमार्गको कुल लम्बाइ ८.६ किलोमिटर पुग्नेछ ।

हाल आयोजना अन्तर्गत ६.४ किलोमिटरको ३ वटा सुरुङमार्ग निर्माण भइरहेको छ । मकवानपुरको महादेवडाँडामा ३.३५५ किलोमिटर, धेद्रेमा १.६३० किलोमिटर र लेनडाँडामा १.४३० किलोमिटर सुरुङ खन्ने काम भइरहेको छ ।

महादेवडाँडामा हालसम्म ४३८ मिटर सुरुङ खनिसकिएको सेनाले जनाएको छ । यसको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले २१ अर्ब ६१ करोड रुपैयाँमा पाएको छ ।

त्यस्तै, धेद्रेमा १.६३० किलोमिटर र लेनडाँडामा १.४३० किलोमिटर सुरुङ खन्न चाइनिज निर्माण कम्पनी पोली च्याङ्दाले ठेक्का पाएको छ । यी दुई सुरुङको लागत २८ अर्ब ५३ करोड रुपैयाँ रहेको छ ।

एकचौथाई काम सकियो

आयोजनाको हालसम्म करिब एकचौथाई काम सकिएको छ । आर्थिक् वर्ष २०७४/७५ देखि निर्माण सुरु गरिएको यस आयोजनाको वैशाख मसान्तसम्म २६ प्रतिशत भौतिक प्रगति भएको छ ।

२०८१ भित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि तोकिएकै सममा काम सम्पन्न नहुने भएपछि हालै म्याद थपिएको छ । थपिएको म्याद अनुसार अब २०८३ सम्म सम्पन्न गर्नुपर्नेछ ।

७२ किलोमिटर लामो यस सडकमा करिब १० किमी लम्बाइ बराबरका ८७ पुल रहने छ । जसमा स्पेसल ब्रिज १६ वटा, मेजर र मिडियम ब्रिज ४९ वटा र माइनर ब्रिज २२ वटा रहेका छन् ।

८७ पुलमध्ये हालसम्म ४५ वटा पुलको ठेक्का प्रकृया पूरा भई निर्माण सुरु गरिसकिएको प्रवक्ता भण्डारीले बताए । बाँकी ४२ वटा पुल विभिन्न प्याकेजमा समावेस गरेर ठेक्का हुने प्रकृयामा रहेको उनले बताए ।

आयोजनाको संशोधित अनुमानित लागत १ खर्ब ७५ अर्ब रुपैयाँ रहेको छ । आगामी आर्थिक वर्षमा फाष्ट ट्रयाकका २२ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा यस आयोजनालाई ३० अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । आयोजनामा चालु आवभित्र १२ अर्ब रुपैयाँ खर्च हुने आयोजनाले जनाएको छ ।

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Previous

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

आधिकारिक व्यक्तिले मात्रै कर हेरफेर गरिएको हाे, बिचौलियालाई छेउछाउ आउन दिइएको छैन : अर्थमन्त्री Read Next

आधिकारिक व्यक्तिले मात्रै कर हेरफेर गरिएको हाे, बिचौलियालाई छेउछाउ आउन दिइएको छैन : अर्थमन्त्री