लुम्बिनी । पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो ५ महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कुल ४ लाख ७० हजार ५४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन् ।
सन् २०२२ को जनवरीदेखि मे महिनासम्म ३ लाख ६२ हजार ५६ जनाले लुम्बिनी भ्रमण गरेका थिए । गत वर्षकोभन्दा यस वर्षको सङ्ख्या १ लाख ८ हजार ४८६ ले बढी छ ।
सन् २०२३ को जनवरीदेखि मे महिनासम्ममा ६७ देशका ३४ हजार ४१३ जना राहदानी लिएका, ३ लाख २४ हजार २६८ नेपाली र १ लाख ११ हजार ८६१ भारतीय नागरिकले बुद्धजन्मस्थलको भ्रमण गरेको तथ्याङ्क छ । गत वर्ष २ हजार ६८७ राहदानी लिएका, २ लाख ८९ हजार ५९४ नेपाली र ६९ हजार ७७५ भारतीय नागरिकले लुम्बिनी भ्रमण गरेका जनाइएको छ ।
यस पाँच महिनाको अवधिमा नेपाली र भारतीय नागरिकबाहेक थाइल्यान्डका ८ हजार २४७, श्रीलङ्काका ५ हजार ७२१, म्यान्माका ५ हजार ३९८, भियतनामका ३ हजार २३५, कोरियाली २ हजार ६२९, चिनियाँ १ हजार २०८ र अन्य देशका ७ हजार ६७५ जना राहदानीका नागिरकले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।
सन् २०२१ मा ४ लाख ६३ हजार ६६३ जना नेपाली र ४३ हजार ७३२ जना भारतीय नागरिकले लुम्बिनी भ्रमण गरेका थिए भने सन् २०२० मा २ लाख १० हजार ३३ जना नेपाली र ३७ हजार २०६ जना भारतीय नागरिकले लुम्बिनी भ्रमण गरेका कोषले उपलब्ध गराएको सूचनामा उल्लेख छ ।
त्यसअघि २०१९ मा भने नेपाली, भारतीय र तेस्रोमुलुक गरी कूल १५ लाख ५८ हजार तीन सय २६ जनाले लुम्बिनी भ्रमण गरेका थिए । लुम्बिनी, नेपालको पश्चिमी क्षेत्रस्थित एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो । यो स्थानलाई बौद्धधर्मको जन्मस्थल मानिन्छ र विश्व सांस्कृतिक धरोहरस्थलको सूचीमा युनेस्कोले समावेश गरेको छ । यहाँ हालका वर्षमा पर्यटक वृद्धिसँगै पर्यटन व्यवसायले पनि वृद्धि गरेको लुम्बिनी पर्यटन व्यवसायी सङ्घका अध्यक्ष हुसेनी लोधले बताए ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मेत्तेय)ले लुम्बिनीमा पर्यटक सङ्ख्याको वृद्धि पर्यटन उद्योगका लागि एक सकारात्मक सन्देश रहेको बताए ।
उनले भने, ‘यसले स्थानीय अर्थतन्त्रलाई वृद्धि गराउँछ भने रोजगार र आयसम्बन्धी अवसर प्रदान गर्दछ ।’ यो तथ्याङ्क मायादेवी मन्दिर परिसरमा प्रवेश गर्नेको मात्र हो । मायादेवी मन्दिर प्रवेश नगरेका तर लुम्बिनी घुम्न आएका पर्यटक पनि धेरै रहेको उनले बताए ।रासस