काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको नाफामा झिनो सुधार आएको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ०.३५ प्रतिशतले बढेको छ ।
कम्पनीले गत पुस मसान्तसम्म समग्र (जीवन र निर्जीवन बीमा) व्यवसायबाट कुल २९ करोड २४ लाख ६७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २९ करोड १४ लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको र्निजीवन बीमा व्यवसाय तर्फको नाफा बढेको छ भने जीवन तर्फ घटेको छ । समीक्षा अवधिमा कम्पनीले निर्जीवन बीमा व्यवसायतर्फ ४६ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ । सोही अवधिमा कम्पनीले निर्जीवन बीमातर्फ ३३ करोड ६१ लाख नाफा कमाएको थियो ।
यस्तै, पुससम्म जीवन बीमातर्फ भने १७ करोड २० लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत वर्ष सोही अवधिमा कम्पनीले जीवन बीमातर्फ ४ करोड ४७ लाख रुपैयाँ नोक्सान व्यहोरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको निर्जीवन बीमा व्यवसायमा ठूलो गिरावट आएको छ । पुस ममसान्तसम्म कम्पनीले निर्जीवन व्यवसायबाट १ अर्ब ७९ करोड ८६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष अवधिमा कम्पनीले निर्जीवनतर्फ ४ अर्ब १७ करोड ४० लाख रुपैयाँ निर्जीवन खुद बीमा शुल्क आर्जन गरेको थियो ।
यस्तै, कम्पनीले पुस मसान्तसम्म जीवनतर्फ १ अर्ब ८४ लाख ९६ रुपैयाँमा खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष सोही अवधिमा जीवन बीमा व्यवसायबाट ७८ करोड ४० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।
हाल ११ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा ५ अर्ब ८९ करोड र जीवन बीमातर्फ २८ करोड ७६ लाख रुपैयाँ संचित छ ।
कम्पनी निर्जीवन बीमा कोषमा २ अर्ब ५१ करोड रुपैयाँ छ भने जीवन बीमा कोषको विवरण भने उल्लेख गरेको छैन ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक २.५१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७४.६४ रुपैयाँ रहेको छ ।