ऊर्जा व्यवसायी उत्साहित, साढे १० हजार मेगावाटको पीपीए खुलाउन माग

काठमाडौं । ऊर्जा व्यवसायीहरूले भारतसँग भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौता (पीपीए) भएसँगै ऊर्जा व्यावसायी उत्साहित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएको भ्रमणका क्रममा भारतसँग भएको उक्त सम्झौता विद्युत् व्यापारमा महत्वपूर्ण उपलब्धी भएको जनाएको हो ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा जेठ १८ गते भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने सहमति भएको थियो । सो सम्झौताले ऊर्जा व्यापारको बजार सुनिश्चित गरेको भन्दै इप्पानले नेपाली जलविद्युत् क्षेत्रका लागि अवसर भएको बताएको छ ।

इप्पानले लामो समयदेखि रोकिएको साढे १० हजार मेगावाटका आयोजनाका विद्युत् खरिद सम्झौता (पीपीए) खुलाउन सरकारसँग आग्रह गरेको छ । ‘केही वर्षदेखि रोकिएर रहेका करिब १० हजार ५०० मेगावाट क्षमताभन्दा बढीका आयोजनाहरूको पीपीए तत्काल खुलाउनको लागि माग गर्दछौं,’ इप्पानद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले अब उत्पादित बिजुलीका लागि बजारको चिन्ता नभएकाले विद्युत् प्राधिकरणले पीपीए खोल्नुपर्ने बताए । उनले बिजुलीको व्यापारका लागि मार्ग प्रशस्त भएकाले अब तत्काल सरकारले विद्युत् खरिद बिक्रीको अनुमति दिन माग गरे । ‘प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा ऐतिहासिक सम्झौता भएको छ । अब त्यसलाई कार्यान्वयनमा ल्याउनका लागि सरकार र सरकारी निकायले पहल गर्नुपर्छ,’ उनले भने ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा दुई देशबीच ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजना विकास सम्झौता (पीडीए), ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत परियोजना विकास सम्बन्धी समझदारी भएको थियो । त्यस्तै, भारत भ्रमणका क्रममा न्यू बुटवल–गोरखपुर ४०० केभी प्रसारण लाइन निर्माणसम्बन्धी शिलान्यास भएको थियाे ।

त्यसैगरी, भारतीय भूमि हुँदै बंगलादेशसम्म नेपालबाट विद्युत् निर्यात गर्ने, पञ्चेश्वर बहुउदेश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)लाई ३ महिनाभित्र अन्तिम रुप दिने, नेपालभित्र विद्युत् प्रसारणलाइन निर्माणको लागि भारतीय एक्जिम बैंकले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने लगायत सम्झौता भएको थियो ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा ऊर्जा व्यापारमा निजी क्षेत्रलाई समेत सहभागी गराउने र अनुमति दिने प्रबन्ध गरिएको इप्पानले सकारात्मक रुपमा लिएको छ ।

बिजुलीको अन्तर्राष्ट्रिय बजारको प्रबन्ध भएको तथा सरकारलेसमेत अनुमति दिएको अवस्थामा ऊर्जा क्षेत्रमा महत्वपूर्ण सुधार र विकासका लागि मार्ग प्रशस्त भएको इपानको ठहर छ ।

 

सेयर बजारमा दोहोरो अंकको करेक्शन, यी हुन् धेरै मूल्य घट्ने कम्पनी Read Previous

सेयर बजारमा दोहोरो अंकको करेक्शन, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

जाल्पा लघुवित्तको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ? Read Next

जाल्पा लघुवित्तको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?