अब नारायणीमा क्रुजसीप इभिनिङ सिफ्टमा पनि संचालन हुने

नवलपुर । मध्य नेपालकै प्रमुख नदी नारायणीमा सञ्चालनमा आएको नेपालकै पहिलो क्रुजसीपले व्यावसायिक यात्रा प्रारम्भ गरेसँगै यस क्षेत्रमा पर्यटक आगमन वृद्धि भएको छ । क्रुजसीपका कारण नवलपुर र चितवनमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको होटल व्यवसायी बताउँछन् ।

गैँडाकोटको एलो हाउस रिसोर्टका सञ्चालक चीरञ्जीवी सिग्देल आफ्नो रिसोर्टमा आउने पर्यटकले क्रुजसीप चढ्न जाने गरेको बताउँछन् । ‘नारायणी नदीमा क्रुजसीप सञ्चालनमा आएपछि गैँडाकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ,’ उनी भन्छन्, ‘केही पर्यटक घुम्न आएका बेला क्रुजसीप जाने गरेका छन् भने केही भने क्रुजसीप चढ्नकै लागि मात्र आउने गरेका छन् ।’

सन्ध्याकालीन सेवा सुरू

क्रुजसीप सञ्चालक संस्था राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका व्यवस्थापक विक्रम बस्याल दैनिक तीन चरणमा क्रुजसीप सञ्चालन भइरहेको बताउँछन् । ‘नियमित सेडुलमा पब्लिकका लागि दैनिक तीन सिफ्ट क्रुज सञ्चालनमा छ,’ उनले भने, ‘दश जनाभन्दा बढीको समूहमा आउनेहरुका लागि उहाँहरुकै समयमा प्राइभेट क्रुज पनि सञ्चालन भइरहेको छ ।’

अहिले दिउँसो १, ३ र ५ बजे पब्लिक क्रुज सञ्चालनमा छ । आजदेखि ‘इभिनिङ क्रुज’ (सन्ध्याकालीन क्रुज) पनि सञ्चालन हुने व्यवस्थापक विक्रम बताउँछन्  ।

‘पछिल्लो समय बढ्दै गएको गर्मीका कारण आजदेखि इभिनिङ क्रुज सञ्चालन गर्ने तयारी गरेका छौँ,’ उनले भने, ‘बेलुका ६–७ बजेको समयमा सञ्चालन हुने इभिनिङ क्रुजमा सूर्यास्तको मनमोहक दृश्यावलोकन पनि गर्न सकिन्छ ।’ कम्पनीले यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै केही दिनभित्रै क्रुजसीपका आकर्षण प्याकेज घोषणा गर्ने तयारी गरिरहेको छ ।

‘देशका विभिन्न स्थानबाट व्यक्तिगत तथा सामूहिकरुपमा क्रुजसीप चढ्न यात्रुहरु आउने गरेका छन्,’ व्यवस्थापक विक्रम बस्याल भन्छन् ‘सहकारी, बीमा कम्पनी र विभिन्न सङ्घसंस्थाबाट क्रुज चढ्नकै लागि आउने गरेको हामीलाई जानकारी गराउँछन्  ।’

कति लाग्छ खर्च ?

प्रतिव्यक्ति रु ७०० को टिकट काटेपछि नारायणी नदीमा एक घण्टासम्म क्रुजसीपमा रमाउन पाइने उल्लेख गर्दै उनले पाँचदेखि १० वर्षसम्मका बालबालिकाका लागि रु ५०० को टिकटको व्यवस्था गरिएको बताए ।

टिकट काटेर क्रुजमा सवार गर्ने सबै यात्रुलाई ‘वेलकम ड्रिङ्क्स’ दिएर स्वागत गर्ने गरिएको र उनीहरूको रु १० लाख बराबरको बीमा गरिएको छ । साथै कुनै भवितव्य आइपरेमा लाइफ गार्डकोसमेत व्यवस्था गरिएको छ।

क्रुजसीपभित्रै रेष्टुराँ

क्रुजसीपभित्रै रेष्टुराँ सञ्चालनमा छ । बजारका होटल तथा रेष्टुराँकै मूल्यमा क्रुजसीप रेष्टुराँमा खाजा तथा खानालगायत पेयपदार्थ उपलब्ध गराइने व्यवस्थापक बस्यालल बताउँछन्  । क्रु

जसीपभित्र रेष्टुराँसहित सांस्कृतिक कार्यक्रम गर्न आकर्षक स्टेज, बैठक तथा गोष्ठीका लागि कक्ष  सेल्फी प्वाइन्ट तथा चलचित्र सुटिङ गर्न मिल्ने युनिटहरु राखिएका छन् । तीन तलाको क्रुजमा एकैपटकमा २०० यात्रु चढ्न मिल्ने क्षमता छ । क्रुजसीपमै बसेर विवाह, व्रतबन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठलगायत गतिविधि गर्न सकिन्छ । रासस

मुग्लिन-पोखरा सकडमा कालोपत्र सुरू, आगामी वैशाखसम्म सक्ने लक्ष्य  Read Previous

मुग्लिन-पोखरा सकडमा कालोपत्र सुरू, आगामी वैशाखसम्म सक्ने लक्ष्य 

लगानीकर्ताको मनोबल उक्सिँदा सेयर बजारमा उछाल Read Next

लगानीकर्ताको मनोबल उक्सिँदा सेयर बजारमा उछाल