काठमाडौं । सेयर बजारले छलाङ मारेको छ । गत साता ९२ अंकले घटेको नेप्से आज एकैदिन ५३.०३ अंकले बढेको हो ।
आज सरकार र सेयर लगानीकर्ता बीच भएको वार्ता निष्कर्षमा पुगेपछि लगानीकर्ता उत्साहित हुँदा नेप्से उच्च अंकले बढेको हो । सरकारले सेयर कारोबारमा हाल लगानीकर्ताले तिर्दै आएको ५ र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर हुने बताएपछि नेप्सेले फड्को मारेको हो ।
सरकारले आर्थिक विधेयकमार्फत सेयर कारोबार गरी ५० लाख बढी कमाउनेले ३९ प्रतिशत आयकर तिर्नुपर्ने व्यवस्था गरेपछि लगानीकर्ता ४ दिनदेखि आन्दोलित भएका थिए ।
आइतबार नेप्से परिसूचक ५३.०३ अंकले बढेर १९१९.३७ विन्दुमा पुगेको छ । यसदिन २७० कम्पनीको १ अर्ब ६५ करोड रुपैयाँ बढीको ४५ लाख ५७ हजार १६९ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेको छ । होटल उपसमूहको परिसूचक सबैभन्दा धेरै ७.३७ प्रतिशतले बढेको छ ।
आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको पौने १६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, सोल्टी होटलको ८ करोड बढीको कारोबरा भएको छ ।
उच्च अंकले बढेको बजारमा ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने सामुदायिक लघुवित्त, ग्लोबल आइएमई ब्यालेन्स फण्ड १, सोल्टी होटल र तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।