काठमाडौं । भारतले आगामी १० वर्ष भित्र नेपालबाट १० हजार मेगावाट बिजुली लैजाने भएको छ ।
भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हैदराबाद हाउसमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो घोषणा गरेका हुन् ।
मोदीले भारत र नेपालको बीचमा लङटर्म पावर ट्रेड एग्रिमेन्ट अनुसार दीर्घकालीन सम्झौता मार्फत १० हजार मेगावाट बिजुली लैजाने बताए । ‘१० वर्षमा नेपालबाट हामीले १० हजार मेगावाट बिजुली आयात गर्ने लक्ष्य राखेका छौं,’ भारतीय प्रधानमन्त्री मोदीले भने ।
मोदीको यो घोषणले नेपालको ऊर्जा व्यापारमा कोशेढुंगा हुने विश्वास गरिएको छ । यद्यपि, भारतले बोले अनुसार कार्यान्वय गर्नेमा जानकारहरु शंका गर्छन् ।
नेपालले लामो समयदेखि भारतसँगै तेस्रो देशमा बिजुली निर्यातको लागि अनुमति माग्दै आएको थियो । भारतले हाल ४५२ मेगावाट बिजुली निर्यातका लागि मात्र अनुमति दिएको छ । नेपाल विद्युत् प्राधिकरणले भारतले थप बिजुली निर्यातका लागि अनुमति नदिए आगामी वर्षायाममा १ हजार मेगावाट बिजुली खेर जाने बताउँदै आएको छ ।
भारतले तत्कालै थप विद्युत् निर्यातका लागि अनुमति दिए आगामी वर्षायाममा नेपालले दैनिक १ हजार बढी मेगावाट बिजुली निर्यात गर्नेछ ।
यस्तै, ६६९ मेगावाटको तल्लो अरुण र ४८० मेगावाटको फुकोट कर्णाली निर्माण अघि बढाउने सम्झौता भएको छ । भारतीय कम्पनी सतलज जलविद्युत निगमले तल्लो अरुण आयोजना र एनएचपीसी लिमिटेडले फुकोट कर्णाली बनाउने सम्झौता भएको हो ।