भारतको बथनाहा-विराटनगर रेल सेवा उद्घाटन

काठमाडौं । भारतको बथनाहादेखि नेपालको विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन भएको छ । बिहीबार नयाँदिल्लीस्थित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसबाट दुई देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर कार्गो रेल्वे सेवाको उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि अब भारतको बनथाहादेखि विराटनगरको बुधनगरसम्मको ८ किलोमिटर दूरीमा कार्गो रेल नियमित सञ्चालन हुनेछ ।बथनाहा–बुधनगर रेलमार्ग कुल ८ किलोमिटर लामो छ । जसमा भारततर्फ ५ र नेपालतर्फ ३ किलोमिटर रहेको छ । यो रेलमार्ग ४ वर्ष अघि नै सम्पन्न भए पनि संचालनमा आउन भने सकेको थिएन् ।

विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकीसम्म आइपुग्ने सो मालवाहक रेलले केही उद्योगका लागि कच्चापदार्थ ढुवानी गरेको छ । लामो समयदेखि कोशी प्रदेशका व्यवसायीले सीमा क्षेत्र बथनाहादेखि विराटनगरको एकीकृत जाँच चौकीसम्म सञ्चालनमा रहेको रेललाई माल सामान ढुवानीका लागि खुला गरेर सहजीकरण गर्न अनुरोध गर्दै आएका थिए ।

भारतको बथनाहाबाट विराटनगरको आइसिपी रेल्वे स्टेसनसम्म बिछ्याइएको आठ किलोमिटर रेलमार्ग तयारी अवस्थामा छ । सो रेलमार्ग २०७५ कात्तिक ८ गते रेल सञ्चालनका लागि परीक्षणसमेत भइसकेको छ । बुधबार पनि सो रेलमार्गको पुनःपरीक्षण गरिएको रेल विभागले जनाएको छ ।

आज उद्घाटन भएपछि सो रेलमार्ग नियमितरुपमा सञ्चालन हुनेछ । यात्रुवाहक रेल भने शीघ्र सञ्चालनमा ल्याउने तयारी छ । यात्रुवाहक रेलका लागि भने कटहरीसम्म रेलमार्ग निर्माण हुनुपर्नेछ । त्यसका लागि पनि आवश्यक तयारी भइरहेको छ ।

बथनाहादेखि विराटनगर हुँदै कटहरीसम्म १८.१ किलोमिटर लामो रेलमार्ग सन् २०११ देखि निर्माण सुरु भएको भए पनि पूरा हुन सकेको छैन । केही स्थानमा मुआब्जा विवाद कायमै छ । उक्त समस्या समाधानका लागि पहल भइरहेको छ ।

भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा सो रेलमार्ग निर्माण भएको हो । विवरणअनुसार भारतको बथनाहाबाट विराटनगर हुँदै कटहरी गाउँपालिकाको महेशपुरमा अन्तिम स्टेशन निर्माण गर्ने सरकारको योजना छ । कुल लम्बाइमध्ये भारततर्फ पाँच र नेपालतर्फ १३ किलोमिटर बराबर छ ।

सो आयोजनाको कूल लागत ३ अर्ब ७३ करोड भारतीय रुपैयाँ छ । उक्त रेलमार्ग निर्माणको जिम्मा भारतीय कम्पनी इरकोनले लिएकोे थियो । यस्तै हाल जनकपुर जयनगर रेलमार्गसमेत सञ्चालनमा छ । सो रेलमार्ग महोत्तरीको बर्दिवाससम्म निर्माणाधीन छ ।

केही स्थानमा भने निर्माण सम्पन्न भइसकेको छ । भारत सरकारले नेपालका विभिन्न छ स्थानमा रेलमार्ग निर्माण गर्ने सम्झौता तत्कालीन राष्ट्रपति डा रामवरण यादवको भारत भ्रमणका क्रममा भएको थियो ।

सुनको भाउले फेरि बनायो हालसम्मकै महँगोको रेकर्ड, प्रतितोला कति पुग्यो ? Read Previous

सुनको भाउले फेरि बनायो हालसम्मकै महँगोको रेकर्ड, प्रतितोला कति पुग्यो ?

भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली लैजाने Read Next

भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली लैजाने