काठमाडौं । साइट क्लियरेन्सको काममा ढिलाइ हुँदा संघीय राजधानी काठमाडौं प्रवेश गर्ने प्रमुख नागढुंगा-मुग्लिन सडक विस्तार सुस्त भएको छ ।
विश्व बैंकको ऋण सहयोगमा बन्दै गरेको यो सडक आयोजना रुख कटान, बिजुलीका पोल सार्न, घरटहरा लगायत संरचना हटाउन ढिलाइ हुँदा निर्माणले गति लिन नसकेको हो ।
९६ किलोमिटर लामो नागढुंगा-मुग्लिन सडक ३ खण्डमा ठेक्का लगाइ विस्तारको काम भइरहेको छ । नागढुंगा-नौबिसे १२.६२ किलोमिटर, नौबिसे-मलेखु ४३.५२ किलोमिटर र मलेखु-मुग्लिन ४० किलोमिटरमा विभाजन गरिएको छ ।
तीनै खण्डमा विस्तारको काम भइरहे पनि अपेक्षित गति भने भने सकेको छैन । पहिलो खण्डकाे निर्माण गरिरहेका व्यवसायी सौरव शर्माले स्थानीय र स्थानीय सरकारका कारण निर्माणलाई तीव्रता दिन नसकेको बताए ।
उनले चालु आर्थिक वर्षमा २१ प्रतिशत भौतिक प्रगति गरेको बताए । उनका अनुसार रुख, पोल र स्थानीयका कारण निर्माणले गति पाउन नसेको छैन । ‘पोल र रुख हटाउन लगभग प्रोसेस अन्तिममा छ, अब ३/४ महिनामा हट्छ होला तर, स्थानीय र स्थानीय सरकारको कारण हामीले काम गर्न सकेका छैनौँ, यस्तै हो भने काम ठप्प गरेर बस्नुपर्ने अवस्था आउँछ,’ शर्माले चाणक्य पोष्टसँग भने ।
निर्माण सामग्री निकालन स्थानीय सरकारले अनुमति दिन आनाकानी गरेको समेत उनको गुनासो रहेको छ । उनका अनुसार असारदेखि खोलाबाट बालुवा लगायतका निर्माण सामग्री निकाल्न नदिने गरी स्थानीय सरकारको नियमका कारण निर्माणले गति लिन नसक्ने अवस्था छ ।
उनले कतिपय स्थानीयहरूले सडक विस्तार घटाउन माग गरेको बताए । मलेखुमा ३ लेनको सडक बनाउन स्थानीयले धम्की समेत दिने गरेको बताए । राजनीतिक रूपमा समेत निर्माणमा बारम्बार धम्की र अवरोध सृजना हुँदै आएको उनले आरोप लगाए ।
‘कतै ४ लेनको सडक बनाउ भन्छ कतै ३ लेन भन्दा बढी सडक बनाइस भने मार्छु भन्दै धम्की आउँछ, यस्तो अवस्थामा हामी काम गर्न चाहनेले समेत काम गर्न पाउने वातावरण छैन,’ शर्माले भने ।
यस्तै, हाल दोस्रो खण्डमा पनि भित्तो कटान, रिटेनिङ वाल लगाउने का भइरहेको छ भने तेस्रो साइट क्लियरेन्स लगायत पहिलो चरणका काम भइरहेका छन् । यी खण्डमा पनि स्थानीयको अवरोध रहेको निर्माण व्यवसायीले बताएका छन् ।
अवरोध चाँडै हटाउँछौं, कुनै बाहानमा ढिलाइ गर्न पाइँदैन
यस्तै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नागढुंगा-मुग्लिनन सडकमा २ र ३ नम्बर ठेक्कामा राम्रो प्रगति भइरहेको बताए । उनले अन्य स्थानमा भएका रुख, पोल र स्थानीय मुआब्जाको समस्या समेत चाँडै समाधान गरी सडक विस्तारलाई तीव्रताका साथ अगाडि बढाउने बताए ।
‘जति निर्धारित गरिएको छ त्यो अनुसार काम हुन सकेको छैन, तर लक्ष्य नजिकै पुग्ने गरी काम भइरहेको छ, रुख, पोलको समस्या लगभग समाधान गरिसकेका छौँ, निर्माण व्यवसायी, स्थानी तह, जनतासँग समन्वयन गरेर यसलाई तीव्रता दिनेछौँ,’ मन्त्री ज्वालाले चाणक्य पोष्टसँग भने ‘समस्या समाधान गर्ने छौँ, त्यसपछि कुनै पनि बहानामा कामबाट भाग्न पाइँदैन । काम नगर्ने ठेक्का तोडेर नयाँ ठेक्का लगाउने छौँ ।’
उनले दोब्बर क्षमता बढाएर भए पनि केही महिनामा नयाँ रिजल्ट आउने गरी काम गरिने बताए । आयोजनामा २५ प्रतिशत हाराहारीमा भौतिक प्रगति भएको छ । आयोजनामा झण्डै २ हजार ३०० रुख कटान गर्न बाँकी छ ।
मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले मलेखुमा स्थानीय हटरा हटाउन र मुआब्जा वितरणका लागि क्याबीनेटबाट स्वीकृती प्राप्त भइसकेको बताए । उनले आगामी वर्षमा कुनै समस्या नहुने गरी सबै समस्या यही वर्ष समाधान गरी अघि बढ्ने गरी प्रकृया अगाडि बढाइएको बताए ।
यो आयोजना विश्व बैंकको १९ अर्ब ऋण सहयोगमा निर्माण हुन लागेको हो । नागढुंगा-नौबिसे (पहिलोखण्ड) १२.२६ किलोमिटरको ठेक्का १ अर्ब ३१ करोड ८४ लाख रुपैयाँमा एमएस जियाङसु-सगुन जेभीले पाएको छ ।
त्यसैगरी, दोस्रोखण्ड अन्तर्गत नौबिसे-मलेखु ४३.५४ सडकमा पनि काम भइरहेको छ । यस खण्डको ठेक्का ५ अर्ब ३३ करोड १९ लाख रुपैयाँमा शर्मा-लामा-जेडआइसीजी जेभीले पाएको छ ।
त्यस्तै, तेस्रो खण्ड (मलेखु-मुग्लिन) ४० किलोमिटर सडक विस्तारको ठेक्का शर्मा-जेडआईसीजी जोइन्ट भेन्चर पाएको छ । जेभीले यस खण्डको ठेक्का ४ अर्ब ८० करोड रुपैयाँमा पाएको हो । यस खण्डमा पनि सुरूआति चरणका कामहरू भइरहेका छन् ।
नागढुंगा-नौबिसे खण्ड ३ लेनको हुने छ । बस्ती तथा बजार भएका स्थानमा सडक ४ लेनको हुने छ । सडक विस्तारका क्रममा सर्भिस लेन निर्माण गरिने छ ।
नागढुंगा-मुग्लिन खण्डमा २१ वटा ४/४ लेनको पुल निर्माण गरिनेछ । आयोजना अन्त्र्गत १० वटा आकासे पुल पनि निर्माण गरिने छ । निर्माण सम्पन्न भएको ५ वर्षसम्म सडक मर्मत संभारको काम निर्माण कम्पनी आफैले गर्नुपर्नेछ ।