काठमाडौं । सेयर कारोबारमा पूँजीगत लाभकर बढाएको भन्दै लगानीकर्ताहरुले आन्दोलन घोषणा गरेपछि आन्तरिक राजस्व विभागले पूँजीगत लाभकर नै अन्तिम हुने स्पष्ट पारेको छ ।
विभागले एक विज्ञप्ति जारी गर्दै नियमित नभई पटके रुपमा लगानी गरी धितोपत्र कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पूँजीगत लाभ कर नै अन्तिम हुने स्पष्ट पारेको हो ।
आगामी वर्षको बजेट कार्यान्वयन गर्न जारी गरिएको आर्थिक विधेयकको दफा २९ मा धितोपत्र र घरजग्गाको नियमित कारोबार गर्ने प्राकृतिक व्यक्तिले आगामी चैत मसान्तसम्म आयकर बुझाए जरिवाना ५० प्रतिशत छुट गर्ने व्यवस्था गरेको छ ।
सो व्यवस्थासँगै लगानीकर्ता पूँजीगत लाभ करका साथै थप आयकर पनि तिर्नुपर्ने हो कि भन्दै अन्योलमा परेका थिए । त्यसैलाई स्पष्ट पार्दै विभागले पटके सेयर कारोबार गर्नेले थप कर तिर्न नपर्ने जानकारी गराएको हो ।
‘नियमित व्यवसायको रुपमा नभई पटके रुपमा लगानी गरेको धितोपत्र बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको छ । त्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पूँजीगत लाभकर अन्तिम हुने कानूनी व्यवस्थामा कुनै परिवर्तन नभएको व्यहोरा सम्बन्धित लगानीकर्ताको जानकारीका लागि यो सूचना जारी गरिएको छ,’ विभागले जारी गरेको विज्ञिप्तिमा भनिएको छ ।
यद्यपि, विभागले कस्तो, कति कारोबार गर्नेलाई नियमित कारोबार र पटके कारोबार भनेर स्पष्ट पारेको छैन ।
