काठमाडौं । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको थियो ।
हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ असारको बाढीले क्षति पुर्याएको हेडवर्क्सलगायत संरचनाको मर्मतका लागि बन्द गरिएको पानी सोमबार साँझदेखि काठमाडौँ पठाइएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।
अहिले सामान्य बाढी आएको बेला पनि आयोजना सञ्चालनमा नै राख्ने गरी उपकरण जडान तथा मर्मतसम्भार गरिएको छ ।
विसं २०७८ असारमा आयोजनाको निर्माण थोरै मात्रै बाँकी हुँदा बाढीले अम्बाथानस्थित आयोजनास्थलमा ठूलो क्षति गराएको थियो ।
यस आर्थिक वर्षमा गत पुसदेखि उपत्यकामा मेलम्चीको पानी वितरण सुरु भएको हो । हिउँदको समयमा उपत्यकामा खानेपानीको समस्या हुने गरेकामा मेलम्चीको पानी आउन थालेपछि उपत्यकावासीलाई सहज भएको छ ।