काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत इलेक्ट्रीक भेहीकल (ईभी)मा करका दर हेरफेर गरेसँगै यसको बहस फेरि सतहमा आएको छ । आगामी आर्थिक वर्षको बजेट मार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतले कम क्षमताका ईभीमा कर बढाएका छन् भने ठूलो क्षमताका सवारीको घटाएका छन् ।
५० देखि १०० किलोवाट मोटर क्षमतासम्मका ईभीमा १० प्रतिशत अन्तःशुल्क र ५ प्रतिशतले भन्सार वृद्धि भएको छ भने १०० देखि २०० किलोमा १०/१० प्रतिशतले भन्सार र अन्तःशुल्क घटाइएको छ ।
यसैगरी बजेटले २०० देखि ३०० किलोवाटका ईभीमा ५ प्रतिशत अन्तःशुल्क छुट दिएको हो । सरकारले ईभीमा करकादर हेरफेर गरेपछि विभिन्न कोणबाट बहस भइरहेको छ । केहीले साना ईभीको कर बढाए पनि ठूला सवारीको घटाउन नहुने तर्क गरिरहेका छन् भने अर्थमन्त्रीले करमा एकरुपता कायम गर्न यस्तो नीति लिइएको बताएका छन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय सवारीको करमा ‘र्यास्नलाइज’ गर्न सरकारले यस्तो नीति लिएको बताए । ‘पेट्रोलियममा आधारित सवारीको तुलनामा विद्युतीयमा न्यून कर हो । उनीहरूको म्यानुफ्याक्चरिङलाई समायोजन गर्दा पनि विद्युतीय सवारीकै कर कम छ,’ उनले भने, ‘यसमा नीतिगत दुरुयोगलाई कम गर्ने हिसाबले विद्युतीय सवारीको करमा र्यास्नलाइज गरिएको हो ।’
पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा साना ईभीको कर बढाउनु आवश्यकता भए पनि ठूलाको घटाउनुपर्ने जरुरी नभएको बताउँछन् । ‘अर्थमन्त्रीले साना विद्युतीय सवारीको कर बढाउँदा माथिका नघटाएको भए हुन्थ्यो भन्ने मलाई पनि लाग्छ । किनभने त्यो जरुरी छैन,’ उनले भने ।
ईभीबाट राज्यले चुकाइरहेको मूल्य
राज्यले ईभीमा दिएको छुट नीतिले ठूलो मूल्य चुकाइ रहेको छ । विदेशी मुद्रा, राजस्व लगायतका विषयमा सरकारले पेट्र्रोलियम सवारी साधनको तुलनामा ठूलो नोक्सानी बेहोरिहरेको छ भने अर्कोतिर पेट्रोलियम पदार्थको खपतमा गिरावट आएको छ न विद्युत् खपत नै उल्लेख्य वृद्धि हुने आकलन छ ।
डा. खतिवडा राज्यले ईभीबाट राज्यले कति लाभ लिइरहेको छ भन्ने हिसाब गर्नुपर्ने बताउँछन् । ‘बिजुली गाडीको भन्सार बढाउन अटोमोबाइल व्यवसायीको लबिङ चल्छ, त्यसो स्वभाविक कुरा हो,’ उनी भन्छन् ‘त्यसमा हाम्रो स्थिति कस्तो छ भनेर हेर्ने हो । यसबाट राज्यले कति राजस्व र विदेशी मुद्रा गुमाइरहेको छ र त्यसको लाभ कतिले लिइरहेका छन् भन्ने हिसाब हुनुपर्छ ।’
अहिलेको आवश्यकता विपन्न परिवारको आयस्तर सुधार गर्नु भएको उनले बताए । ‘प्लाष्टिकको झोला बालेर आगो ताप्छन् । त्यहाँ प्रदूषणको कुरा आउँदैन ? अनि पेट्रोलियम गाडीले यत्ति धुवाँ फाल्यो भनेर हामी यति संवेदनशील हुने हो भने गुइँठा, दाउरा बालेर खाना बनाउने र उज्यालो बाल्ने परिवारको बारेमा सोच्नु पर्दैन ?,’ खतिवडाले भने ।
बिजुली गाडीको विषयमा काठमाडौंका मानिसले जवाफ दिनुपर्ने र यसको छुट्टै बहस हुनुपर्ने उनको टिप्पणी छ । ‘कति मूल्यको गाडी ल्याउछौं । त्यसले कति रुपैयाँको बिजुली खपत गर्छ । त्यसको लागि कति विदेशी मुद्रा गुमाउनु पर्छ र अर्को सवारीको तुलनामा कति राजस्व गुमाउँदै छौं । यो सबै गर्दा कति पेट्रोलियम पदार्थको खपत कम हुन्छ भन्ने काठमाडौंमा बस्ने मानिसले जवाफ दिनुपर्ने विषय छ । यसको छुट्टै बहस आवश्यक छ,’ उनले भने ।
बजेट लेखनमा लामो अनुभव भएका प्र्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक सचिव राज्यले अहिले ईभीमा लगाएको कर निकै अपर्याप्त भएको बताउँछन् । ‘यो ईभीमा सरकारले अहिले लगाएको कर निकै कम हो । यसबाट राज्यले ठूलो राजस्व गुमाइरहेको छ,’ उनी भन्छन् ।
आवश्यकताको लागि चुनौती सामना
पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा प्रणालीको आवश्यकताले सृजना गरेका करका दर हेरफेर सामना गर्नमा चुनौतीको सामना गर्नुपर्ने बताउँछन् ।
‘करका दर र दायरा एउटा प्रणालीको आवश्यकताले सृजना गर्छ भने अर्को व्यवसायीको आवश्यकताले । हामी अर्थमन्त्री कसको आवश्यकतालाई सम्बोधन गछौं भन्ने हो,’ उनी भन्छन्, ‘यसमा अर्थमन्त्री खरो उत्रिनु पर्छ कि प्रणालीको आवश्यकताले यो गरिएको हो भनेपछि चुनौती सामना गर्न तयार हुनुपर्छ ।’
विद्युतीय सवारीको करको विषयमा आफ्नो पालामा पनि प्रश्न उठेको र छानबिन समेत गर्न भनेको उनले स्मरण गराए । ‘विद्युतीय सवारीको विषयमा मेरो पालामा पनि कुरा उठ्दा संसदीय समितिले छानबिन गरोस् भनेको थिए । भोलि महतलाई पनि यही प्रश्न संसदमा उठ्छ । प्रश्न उठ्दा उहाँ पनि त्यो छानबिनको लागि तयार र टेस्टटेड हुनुपर्छ,’ खतिवडा भन्छन् ।
अर्थमन्त्रीले आफूले गरेको निर्णयमा जीवन्त जिम्मेवार हुनुपर्ने र जिम्मेवारीमा नहुँदा पनि उम्कन नपाइने उनले बताए । अर्थमन्त्री महतले निश्चित बिजनेश वा व्यक्तिलाई हेरेर करकादर हेरफेर नगरिएको बताए ।
‘मैले राजस्व करका दरहरूलाई हेर्दा अर्थतन्त्रलाई कसरी चलायमान बनाउन सकिन्छ र त्यसको प्रभाव सुनौलो रूपमा कसरी पर्छ भन्ने हेरिएको हो । कुनै निश्चित बिजनेश वा व्यक्तिलाई केन्द्रित भएर होइन कि समग्र अर्थतन्त्रलाई हेरेर नीति बनाउनुपर्ने हुन्छ,’ उनले भने ।