काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि ९ महिनादेखि थन्किएको विधेयक उनले प्रमाणीकरण गरेका हुन् ।
संवैधानिक व्यवस्था अनुसार संसदबाट पारित भएर गएको कुनै पनि विधेयक १५ दिन भित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ । तर, तत्कालीन राष्ट्रपति भण्डारीले संसदले पठाएको विधेयक प्रमाणीकरण नगरी त्यत्तिकै थन्क्याइदिएकी थिइन् ।
भण्डारीले संसदले पठाएको विधेयक प्रमाणीकरण नगरेपछि गत मंसिरको निर्वाचनपछि गठित नयाँ सरकारले पुरानै विधेयक पारित गर्न राष्ट्रपति समक्ष आग्रह गरेको थियो ।
गत जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय समेत गरेको थियो। सोही मन्त्रिपरिषद्को निर्णयलाई मान्दै राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेका हुन्।
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएसँगै उमेर पुगेर पनि नागरिकता पाउन वञ्चित भएका करिब ५ लाख बढी लाभान्वित हुने भएका छन् ।
