चोभारको अत्याधुनिक फलफूल बजार निर्माण पूरा नहुँदै कालीमाटीलाई दिने तयारी

काठमाडौं । चोभारमा बन्दै गरेको अत्याधुनिक फलफूल तथा पुष्प बजारको निर्माण तथा सञ्चालन गर्ने जिम्मा कालिमाटी फलफूल तथा तरकारी विकासलाई दिइने तयारी भएको छ ।

 

महादेव खिम्ती, समसुज्जामन र एनके कम्पनीले संयुक्त रुपमा निमार्ण गरिरहेको बजारको ठेक्का समयमा सम्पन्न हुन नसकेपछि कृषि तथा पशुपन्छि विकास मन्त्रालयले सोको बाँकी काम निमार्ण पूरा र सञ्चालन गर्न कालिमाटी विकासलाई दिने प्रकृया अघि सारेको हो ।

 

कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सहसचिव हरि बहादुर केसीका अनुसार दशैँ अघिदेखि यो ठेक्का कालिमाटी विकासलाई दिन अर्थ मन्त्रालयमा कागजपत्र पेश गरिएको छ ।

 

उनले अर्थमन्त्रालयमा स्वीकृत भए कृषि मन्त्रालयले सो ठेक्का कालिमाटीलाई दिने छ । सो ठेक्काको बाँकी कामका लागि कालिमाटीलाई बाँकी रकम दिइने उनले बताए ।

 

‘फलफूलतथा पुष्प बजार निर्माणको ठेक्का अवधि सकिएको छ, अब त्यो कालिमाटीलाई जिम्मा दिइन्छ, त्यसका लागि अर्थमन्त्रालयमा कागज पेश गरेका छौँ, उताबाट स्वीकृत भएपछि सबै कालिमाटीलाई नै जिम्मा दिइनेछ,’ सहसचिव केसीले चाणक्य पोष्टसँग भने ।

 

फलफूलतथा पुष्प बजार निर्माण सुस्त भएको भन्दै विभिन्न समयमा ठेक्का कम्पनीको विरोध समेत भएको थियो । हालसम्म निमार्णको ८० प्रतिशतका हाराहारीमा काम सम्पन्न भइसकेको मन्त्रालयले जानकारी दिएको छ ।

 

विश्व बैंकको आर्थिक सहयोगमा अन्तर्राष्ट्रियस्तरको  पुष्प तथा फलफूलबजार बजार  करिब ३३ करोड रुपैयाँको लगानीमानिर्माण भइरहेको हो । २२ रोपनी जग्गामा बन्न लागेको फलफूलतथा पुष्प बजार अन्डर ग्राउन्ड पार्किङसहितको हुनेछ ।

 

अहिले १ हजार ५ सय ६० वर्गमिटरमा मुख्य फलफूल बजार बनाउने छ । पुष्प बजारको लागि भने छुट्टै ४ सय वर्ग फिटमा आँखिझ्याल सहितको आकर्षक चार तले भवन निर्माण गरिने छ ।

 

चोभारको पुष्प तथा तरकारी बजार निर्माण पछि कालीमाटी तथा फलफूलबजार विकास समितिलाई हस्तान्तरण गरिने भनेपनि सम्पूर्ण काम सकिनु अघि कालिमाटीलाई जिम्मा दिइन लागेको हो ।

 

कालिमाटी फलफूल तथा तरकारी बजारमा वर्षेनी साढे २ लाख मेट्रिक टनका हाराहारीमा तरकारी तथा फलफूल आयात हुने गरेको छ ।
पछिल्लो समयमा कालिमाटी बजारमा दैनिक ६ सय ५० देखि ७ सय मेट्रिक टन तरकारी तथा फलफूलआयात हुने गर्छ । कालिमाटीमा दैनिक करिब ३ करोड रुपैयाँसम्मको कारोबार हुँदै आएको छ ।

 

नेपालमा सबैभन्दा बढी तरकारी आयात भारतबाट हुन्छ भने त्यसपछि चीन, बङ्गलादेशबाट हुने गरेको छ । यस्तै नेपालका विभिन्न स्थानहरु भक्तपुर, चितवन, दोलखा, गोरखा, झापा, काभ्रे, नुवाकोट, रामेछाप, सर्लाही, सिन्धुपाल्चोक र तनहुँबाट पनि तरकारी आउने गरेका छन् ।

महासंघको आगामी अध्यक्ष शेखर गोल्छा पक्का, विशेष साधारण सभा नगर्ने प्रस्ताव स्थायी समितिबाट पास Read Previous

महासंघको आगामी अध्यक्ष शेखर गोल्छा पक्का, विशेष साधारण सभा नगर्ने प्रस्ताव स्थायी समितिबाट पास

पढाइसँगै गर्न सकिन्छ यस्ता खालका ‘पार्ट टाइम जब’ Read Next

पढाइसँगै गर्न सकिन्छ यस्ता खालका ‘पार्ट टाइम जब’